बौद्धिक सम्पत्तिमा भिडियो निर्देशक समाजको चासो

काठमाडौं । नेपाल म्यूजिक भिडियो निर्देशक समाजको कार्यसमिति बैठकले म्यूजिक भिडियोका विभिन्न सिर्जनात्मक पाटोमा काम गर्ने निर्देशक, कोरियोग्राफर र छायांकारको प्रतिलिपि अधिकार सुनिश्चित गर्न पहलकदमी अगाडि बढाउने निर्णय गरेको छ । भदौ ३१ गते समाजको केन्द्रिय कार्यालय मालीगाउँ, काठमाडौंमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिलिपि अधिकारको सुरक्षाको लागि समाजले कार्यविधि बनाएर सम्बन्धित पक्षहरुसँग सहकार्य गरी अघि बढ्ने गरि निर्णय भएको समाजका महासचिव सुब्रतराज आचार्यले बताए ।

‘विश्वभरी सार्वजनिक स्थानहरु जस्तैः क्याफे—रेष्टुराँ, बार तथा क्लवहरु, सार्वजनिक यातायात, एअरपोर्ट, बसपार्क, सार्वजनिक कन्सर्ट–कार्यक्रमहरु, हवाईजहाज लगायतमा नेपाली म्यूजिक भिडियोहरु प्रदर्शनी हुन्छ भने त्यसबापत सर्जकहरुले प्राप्त गर्नुपर्ने बौद्धिक सम्पत्ति अन्तर्गतको अधिकार पाइरहेको अवस्था छैन । त्यसकारण म्यूजिक भिडियो निर्देशक समाजको अगुवाईमा नेपालका सम्पूर्ण भिडियो निर्देशक, कोरियोग्राफर तथा छायांकारहरुको बौद्धिक सम्पत्ति रक्षार्थ यो निर्णय गरिएको हो’, आचार्यले भने ।

साथै यो कामबाट म्युजिक भिडियोका सर्जकहरुको अधिकार सुनिश्चित भई आर्थिक लाभ प्राप्त हुने र यो निर्णय ऐतिहासिक हुने महासचिव आचार्यको दाबी छ ।

त्यस्तै, बैठकले म्यूजिक भिडियोलाई राज्य मातहत ल्याउनको लागि आवश्यक प्रकृया अगाडि बढाउने निर्णय पनि गरेको छ । ‘हालको अवस्थामा म्यूजिक भिडियोहरु राज्यको मातहतमा नरहेकोले म्यूजिक भिडियोलाई पनि फिल्म निर्माणको एक पाटोमा राख्नु पर्ने आवश्यकता रहेको छ । त्यसकारण म्यूजिक भिडियोलाई पनि राज्यको सम्बन्धित निकाय मातहतमा ल्याउनको लागि आवश्यक प्रक्रिया तत्काल सुरु गर्ने निर्णय पनि गरेका हौं’, समाजका अध्यक्ष विधान कार्कीले बताए ।