पारु र मनोजको यो माया होइन र

काठमाडौं । करिब एक दशकदेखि बेलायतलाई कर्मथलो बनाएकी गायिका पारु राई र गायक मनोज थापा मगरको युगल स्वरमा रहेको गीत ‘यो माया होइन र’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित गीतमा पारु राईको नै शब्द रहेको छ भने गायक मनोज थापा मगरले नै गीतलाई संगीतबद्ध र संगीत संयोजन गरेका हुन् ।

बेलायतका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यस भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारु राई फिचर्ड छन् । विशेष भूमिकामा दिलिप राईको समेत अभिनय देख्न सकिन्छ ।

पारु राई र सुर्य मोक्तान तामाङ सहायक निर्देशक रहेको भिडियोमा कुशल श्रेष्ठको छायांकन र निर्देशन छ । गायक थापा मगरको आधिकारिक च्यानल मनोज थापा मगरमार्फत भिडियो सार्वजनिक भएको हो ।