गीतमा चरीसँग संवाद गर्दै दिनेश

काठमाडौं । गायक दिनेश गौतमको स्वरमा रहेको ‘चरी’ बोलको गीत सार्वजनिक भएको छ । राजधानीमा सोमबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा प्रकाश सापकोटाको शब्द र पुस्तक प्रसादको संगीत छ । गीतमा उदयराज पौडेलको एरेञ्ज छ ।

गीतमा मानिसको बह पोख्ने माध्यमको रुपमा चरालाई प्रस्तुत गरिएको छ । ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलले निर्देशन गरेको भिडियोमा गायक गौतम आफै फिचर्ड छन् । ‘द भ्वाइस अफ नेपाल’ को स्टूडियोमा खिचिएको गीत निकै कलात्मक छ । गीतको अडियो र बलियो पक्ष बलियो छ ।

गोल्डेन हार्ट पिक्चरले निर्माण गरेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने सोहन मानन्धरको सम्पादन रहेको छ । गायक गौतमले गीतको भाव अनुसार भिडियो बनेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा अतिथीको रुपमा उपस्थिति बरिष्ठ संगीतकार सुरेश अधिकारी र कवि तथा गीतकार श्रवण मुकारुङले गीतको अडियो र भिडियो पक्षको मुक्तकण्ठले प्रशंसा गरे । गीतका शब्दमा हरेक नेपालीले कथा भेट्ने कवि मुकारुङको भनाई छ । संगीतकार अधिकारीले पनि नेपालमा यसप्रकारको भिडियो बन्न थालेकोमा खुसी व्यक्त गरे ।