अमेरिकामा ग्लोबल नेपाली फिल्म फेस्टिभल

काठमाडौं । विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रा नेपाली फिल्महरूको प्रचारप्रसार र प्रवद्र्धन तथा नेपाली फिल्महरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउने उद्देश्यले अमेरिकामा ‘ग्लोबल नेपाली फिल्म फेस्टिभल’ हुने भएको छ ।

कोभिड–१९ ले गर्दा सुस्ताएको नेपाली फिल्मलाई चलायमान बनाउन र नेपाली फिल्मको गरिमालाई उच्च बनाउनको लागि ‘ग्लोबल नेपाली फिल्म फेस्टिभल युएसए’ गर्न लागिएको नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए । मल्लका अनुसार यो फेस्टिभल कुनै प्रतिष्पर्धा नभएर नितान्त नेपाली फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्रीको प्रचारप्रसार र प्रबद्र्धनको लागि आयोजना गर्न लागिएको हो ।

फेस्टिभलका आयोजक नवराज श्रेष्ठका अनुसार फिल्म महोत्सवको मिति चाडै नै तय गरिनेछ । ‘कोरोना महामारीका कारण केही कठिनाइ भएको छ । हामीले छिट्टै महोत्सवको मिति घोषणा गर्ने छौँ,’ उनले भने ।

नेपाल फिल्म सोसाइटी काठमाडौं, नेपाल फिल्म सोसाइटी युएसए र ग्लोबल नेपाल फिल्म अवार्डस (एलएलसी)ले संयुक्त रुपमा आयोजना गर्ने भएका हुन् ।