डा. उपाध्यायले ल्याए बाह्रौं उपन्यास मेरी प्रिया

काठमाडौं । विश्व कीर्तिमानी उपन्यासकार तथा गीतकार डा. डीआर उपाध्यायले आफ्नो १२ औं उपन्यास ‘मेरी प्रिया’ बजारमा ल्याएका छन् । शनिबार काठमाडौंमा पुस्तक सार्वजनिक गरियो ।

यसअघि डा. उपाध्यायका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाँया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’ र ‘कफी लभ’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् ।

नयाँ उपन्यास अग्रज साहित्यकार खेमनाथ दाहाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघ नेपालका निर्वतमान अध्यक्ष चुडामणी देवकोटा, संगीतकार सन्तोष श्रेष्ठ, भुँडी पुराणका अध्यक्ष कृष्णप्रसाद पराजुली, उपन्यासका डा. उपाध्याय, पत्रकार नरेश भट्टराईलगातले संयुक्त रुपमा विमोचन गरे ।

साहित्यकार लेकालीले १४ वर्षको टिनएजर भएर उपाध्यायले उनीहरुको कुरालाई उपन्यासमा ल्याएको बताए । साहित्यकार दाहालले टिनएजरको कथा समेटिएको यो उपन्यासमा उनीहरुको अभिभावकबाट लेखकले महत्वपूर्ण सन्देश दिने कार्य गरेको बताए । उपन्यासमा समाजिक विषय वस्तु र जातिय विभेदका कुरालाई राम्रोसँग उठान गरेको पनि उनले बताए ।

उमेरले ६० पुग्न लागे पनि वार्षिक दुई वटा उपन्यास ल्याउने उपाध्यायलाई गीतकार चुडामणी देवकोटाले तन्नेरी लेखकको रुपमा चर्चा गरे । यो उमेरका लेखकले तन्नेरी पुस्ताको कथामा उपन्यास लेख्नु आफैंमा प्रसँसनीय कार्य भएको उनले बताए । लेखक उपाध्यायले आफुले १४ वर्षका किशोरहरुको सँगत गरेरमात्र यो उपन्यास लेखेको खुलाए ।

भुँडी पुराणले प्रकाशन गरेको यो उपन्यासका बारेमा संगीतकार सन्तोष श्रेष्ठले समिक्षात्मक टिप्पणी गरेका थिए । बयालिस भागमा विभाजन गरिएको उपन्यास १८० पृष्ठको रहेको छ । जसको मूल्य ३५० रुपैयाँ राखिएको छ ।