काठमाडौं । विश्वका १ सय १३ देशमा फ्रेञ्चाइज शोको रुपमा सञ्चालन भइरहेको रियालिटी शो ‘द भ्वाइस किड्स’ अब नेपालमा पनि भित्रिएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कात्तिककाे दोश्रो साताबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभीबाट प्रशारण हुने जानकारी दिइएको छ ।
विश्वका सयौं देशमा नम्बर ए रियालिटी शोको रुपमा स्थापित ‘द भ्वाइस किड्स नेपाल’मा ६ देखि १४ बर्ष उमेर भित्रका बालबालिका सहभागी छन् । अहिले बालबालिकाको प्रि अडिसन चलिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । डिजिटल अडिसनमा १० हजार भन्दा बढी बालबालिका सहभागी भएको र यसबाट छनोट भएका १४ बर्ष भन्दा कम उमेरका बालबालिकाले ‘ब्लाइन्ड अडिसन’मा सहभागी हुनेछन् ।
पत्रकार सम्मेलनमा हिमालय टीभीका अध्यक्ष धर्मराज भुषालले शोका प्रायोजक कम्पनीका प्रतिनिधिसँग सहमति पत्रमा हस्ताक्षर गरे ।यो शोको टाइटल स्पोन्सर अमृत तेल रहेको छ । यस्तै, हाइजिन पार्टनरमा लाइफबोय र डाबर रेड पेष्ट, को–स्पोन्सरमा लिटमस केबल्स र बत्सल्य न्याचुरल, फ्लोरिङ्ग पार्टनरमा जेन्सा कार्पेट र भोटिङ पार्टनरमा खल्ती आबद्ध छ । यस्तै, यसको मार्केटिङ पार्टनर एड प्याड मिडिया मार्केटिङ रहेको छ ।
‘द भ्वाइस किड्स’को मुख्य कोचमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी छन् । कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले पहिलो सिजनमै सहभागी बालबालिकाहरुको प्रतिभा ‘द भ्वाइस अफ नेपाल’मा सहभागीहरुको भन्दा विलक्षण रहेको सुनाए । उनले, आफूहरुले बालबालिकाको प्रतिभा विश्वमाझ पुर्याउनका लागि यो शो तयार पारेको बताए । उनले, बालबालिकाको मनोविज्ञानलाई ध्यानमा राखेर शो तयार पारिएको बताए ।
कार्यक्रममा उपस्थित कोचहरु राजु लामा, मिलन नेवार र प्रविशा अधिकारीले यो शोसँग जोडिन पाउँदा नयाँ अनुभुती भैरहेको सुनाए । उनीहरुले, बालबालिकालाई आफूहरुले मुल्यांकन गर्ने भन्दा पनि उनीहरुको प्रतिभा निखार्न सहयोग गर्ने जानकारी दिए ।