हर्षुको मेरो देश नेपाल

धरान । गायिका हर्षु राईको राष्ट्रिय भावमा समर्पित गीत ‘मेरो देश नेपाल’को भिडियो सार्वजनिक भएको छ । सोमबार धरानको बराह कम्प्लेक्सको हलमा आयोजित कार्यक्रममा गायक दीप श्रेष्ठ र धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले भिडियो सार्वजनिक गरे ।

गीतमा गोपाल दाहालको शब्द, विनोद प्रियदर्शी राईको संगीत र किरण कँडेलको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा नगेन्द्र लोहोरुङ राईको निर्देशन, छायांकन र सम्पादन छ ।

२०४३–०४४ सालबाटै जनवादी गीत गाउन सुरु गरेकी गायिका हर्षुले पञ्चायतीकालमा हिमायती समूहसँगै मिलेर गीतमार्फत खबरदारी गर्ने गर्थिन । २०४७ सालताका पूर्वका गाउँ गाउँमा ‘चेलीको सिउँदो पुछियो ’ जस्तो जनवादी गीत गाउँदै हिड्ने हर्षुले हिमायती समूहबाट ‘आकाशमा उड्ने चरी’, ‘झरझर झरना’ लगायतका गीतहरु पनि गाएकी छिन् ।

पछिल्लो समय आधुनिक गीतमा सक्रिय उनि पूर्वका धेरै ठाउँसँगै हङकङसम्म पुगेर आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् । २०५१ सालमा उनले आफ्नो पहिलो एकल एल्बम ‘स्मृति’ र २०६२ मा दोस्रो एल्बम ‘प्रिति’ बजारमा ल्याइसकेकी छिन् । गीतको भिडियो सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानलमा हेर्न सकिन्छ ।