आर्यनका कारण फिल्म रोक्दै शाहरुख

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता शाहरुख खान हालका दिनमा छोरा आर्यन खान लागुऔषध मामलामा पक्राउ परेपछि निकै तनावमा देखिएका छन् । हाई प्रोफाइल लागुऔषध मामलामा आर्यनलाई हालसम्म जमानत मिलेको छैन । अहिले शाहरुख आफ्ना सबै काम छोडेर आर्यनलाई रिहाई गर्नका लागि दिलोज्यान दिएर लागिपरेका छन् ।

यी सबै कारणले शाहरुखको काम एकपटक पुनः होल्डमा गएको छ । सन् २०१८ मा फिल्म ‘जिरो’ पछि शाहरुखले फिल्मबाट ब्रेक लिएका थिए । उनी एक राम्रो स्क्रिप्टको खोजीमा थिए । तर उनी कमब्याक गर्ने तयारी भइरहँदा आर्यनको मामलाले उनलाई थप तनाव दिएको छ ।

लागुऔषध मामलामा जब आर्यन पक्राउ परे, त्यही समयदेखि शाहरुखको दुई फिल्ममा ब्रेक लागेको छ । शाहरुख सिद्धार्थ आनन्दको एक्सन फिल्म ‘पठान’बाट कमब्याक गर्दैछन् । यो फिल्मको सुटिङ गत नोभेम्बरबाटै सुरु गरेका थिए । जुन हिसाबले अहिले सुटिङ पुरा हुनुपर्ने हो । फिल्मको केही महत्वपूर्ण दृश्य र गीत सुटिङ गरेपछि फिल्मको पोस्ट प्रोडक्सनको काम हुनुपर्ने थियो ।

शाहरुख अक्टोबरबाट ‘पठान’को अन्तर्राष्ट्रिय सेड्युलको सुरुवात गर्ने तयारीमा थिए र यसका लागि उनी अक्टोबर २ मा स्पेन पनि गएका थिए । तर आर्यन पक्राउ परेपछि उनी स्पेनबाट भारत फर्किए ।

शाहरुखको अर्को फिल्म ‘एटली’को सुटिङ पनि रोकिएको छ । शाहरुखले यो फिल्मको मुम्बईमा सुटिङ गरिरहँदा एनसीबीले आर्यनलाई हिरासतमा लिएको थियो । जसकारण शाहरुखले आफ्नो भागको सुटिङ बीचमै रोक्नुपरेको थियो ।