स्वेता भन्छिन्,‘दर्शकप्रति कृतज्ञ छु’

काठमाडौं । आफूले पहिलोपटक निर्माण गरेको फिल्म ‘कान्छी’ले शुक्रबार र शनिवार दर्शकबाट पाएको उत्कृष्ट प्रतिक्रियाबाट नायिका तथा निर्मात्री स्वेता खड्का प्रफुल्लित छिन् । शनिवार गोपीकृष्ण र अष्टनारायण हलमा पुग्दा दर्शकको भीड देखेपछि उनी केही भावुक पनि बनिन् ।

शुक्रबार ८० प्रतिशत अकुपेन्सी कायम गरेको फिल्मले शनिबार शत प्रतिशत अकुपेन्सी कायम गरेको थियो । जसको प्रत्यक्ष अनुभव स्वेताले फिल्म हलमा पुग्दा पाइन् । दर्शकको भिडलाई सम्बोधन गर्न श्वेता, दयाहाङ राई, निर्देशक आकाश अधिकारी, नायक प्रज्जवल सुजल गिरीको टिम गोपीकृष्ण र अष्टनारायणहल पुगेको थियो । दर्शकले श्वेता र दयासँग सेल्फी खिच्न तँछाडमँछाड नै गर्नुपर्यो ।

फिल्म हेर्न आएका दर्शकप्रति स्वेता कृतज्ञ बनिन् । ‘कान्छीलाई दर्शकले धेरै माया गर्नुभएको छ । उहाँहरु प्रति म एकदमै कृतज्ञ छु ।’ स्वेताले भनिन् । वितरक गोपालकाजी कायस्थका अनुसार दर्शकले फिल्म हेर्नका लागि ब्ल्याकमा पनि टिकट पाएनन् । ‘कान्छीको यो ओपनिङ सुपरहिट फिल्मको हो । कान्छी हेर्न लामो समयसम्म दर्शक हलमा आउने छाँटकाट देखिसकेको छु ।’ वितरक गोपालले भने ।

डेढ करोडको लगाीनमा बनेको फिल्ममा शैलेश खड्का र रविन खड्का पनि निर्माता छन् । याम थापाको लेखन रहेको फिल्ममा दया, श्वेता र प्रज्वलसँगै नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, विनोद न्यौपाने लगायतका कलाकारको अभिनय छ । पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा अर्जुन पोखरेल, राजनराज शिवाकोटी र शम्भूजित बास्कोटाको संगीत छ ।