काठमाडौं । नेपाली संगीत क्षेत्रमा साढे चार दशकभन्दा लामो समयदेखि निरन्तर योगदान दिँदै आएकी लोकगायिका चन्द्रकला शाह पुरस्कृत भएकी छिन् । उनलाई मंगलबार काठमाडौंमा एक समारोहबीच संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटालगायतले ५० हजार रुपैयाँ नगदसहित ‘कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८’बाट पुरस्कृत गरेका हुन् ।
पछिल्लो समय अमेरिकामा बस्दै आएका संगीतकार तथा गायक कन्हैया सिंह परियारले आफ्नो ५० औं जन्म दिनको अवसरमा फजुल खर्च नगरी सो पैसाबाट ‘कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८’ स्थापना गरेका थिए । उनी काठमाडौं आएको बेला पुरस्कार मंगलबार काठमाडौंमा गायिका शाहलाई प्रदान गरिएको हो ।
कार्यक्रममा संगीतकार बासकोटाले नेपाली लोक संगीत सिर्जना र भाका संकलनमा चन्द्रकला शाहको अतुलनीय योगदान रहेको बताए । यस्ता श्रष्टालाई करारमा काम गरिरहेको बेला रेडियो नेपालले बिना कारण जागिर खोसेर बेरोजगार बनाएको बेला सिंहले आफ्नो नाममा स्थापित पुरस्कारबाट पुरस्कृत गर्नु प्रशंसनीय कार्य भएको पनि बासकोटाले बताए ।
टिका गोपाल डिजिटल एम क्रियसनले आयोजना गरेको कार्यक्रममा गायिका शाहले सरकारले दिएको पुरस्कारभन्दा निजी क्षेत्रबाट प्राप्त ठुलो राशीको पुरस्कार आफ्नो लागि अझ महत्वपूर्ण भएको बताईन् । उनले पुरस्कारको रकमबाट धेरै समयदेखि रोकिएको आफ्ना गीतहरुको पुस्तक प्रकाशन गर्ने खुलाइन् ।
संगीतकार तथा गायक कन्हैया सिंहले चन्द्रकलाकै गीत सुनेर र गाएर आफ्नो बाल्यकाल बितेको बताए । यस्तै संगीतकार सन्तोष श्रेष्ठ र गायक भीमार्जुन आचार्य, गीतकार माधवराज खरेललगायतले गायिका चन्द्रकला शाहले नेपाली लोक संगीत क्षेत्रमा साढे चार दशकदेखि पु¥याएको योगदानको चर्चा गरे ।