टुल्कीलाई सबैले हेर्न पाउने

काठमाडौ । फिल्म ‘टुल्की’ सेन्सर पास भएको छ । फिल्मलाई सेन्सर बोर्डले यूनिभर्सल सर्टिफिकेट दिएको छ । फिल्मले नेपाल सरकार अन्तर्गत केन्द्रीय चलचित्र जाँच समितिबाट यूनिभर्सल सर्टिफिकेट पाएको हो । यो सर्टिफिकेट पाएसँगै फिल्मलाई सबै वर्ग र उमेरका दर्शकले हेर्न पाउनेछन् ।

द पाल्म ग्रुपको ब्यानरमा शेखर लामाको प्रस्तुती रहेको फिल्मले हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथा बोल्छ । लक्ष्मण सुनारको कथा, देव जंग थापाको छायांकन तथा निर्देशनमा बनेको फिल्ममा आरपी कर्माचार्य र शेखर लामाको लगानी छ ।

फिल्ममा शिशिर वाङदेल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायतलगायतको अभिनय छ । ब्राम्हण बस्तीमा जन्मेकी युवती शेर्पा युवासँग माया प्रेममा परेर विवाह गरेपछि उनले त्यहाँको संस्कार नबुझेर भोग्नुपरेको कथालाई फिल्ममा उतारिएको निर्माण टिमले जनाएको छ ।

करिब ४ वर्षको अध्ययनपछि फिल्मको निर्माण गरिएको निर्माता शेखर लामाले जानकारी दिए । यो फिल्म नेपालमा भन्दा पहिले विभिन्न देशमा प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ । साथै, अन्तरौष्ट्रिय चलचित्र महोत्सवमा समेत भाग लिने सोचका साथ फिल्म निर्माण गरिएको बताईएको छ ।