काठमाडौं । फिल्म सम्बन्धी अध्ययन गराउदै आएको कान्तिपुर फिल्म एकेडेमीले फिल्म ‘म’ निर्माण गर्ने भएको छ । पहिलो पटक फिल्म निर्माणमा हात हाल्न लागेको एकेडेमीको यो फिल्मको सोमबार राजधानीमा मुहुर्त गरिएको छ ।
एकेडेमीकै परिसरमा आयोजित कार्यक्रममा दुई वर्ष अघि नै निर्माण घोषणा गरिए पनि कोरोना महामारीका कारण जारी गरिएको लकडाउनले गर्दा निर्माण कार्य अघि नबढेको जानकारी दिइयो । फिल्मको छायांकन अब पौष ११ बाट सुरु हुनेछ ।
फिल्ममा निर्देशन सुदर्शन थापाको निर्देशन रहनेछ । फिल्मको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले लेखेका छन् भने फिल्ममा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, निराजन प्रधान, रुविना थापा, प्रमोद अग्रहरी, संजोग रसाइली र पुनम श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहनेछ ।
त्यस्तै, फिल्ममा बनिष शाहको सम्पादन, तेन्जिन पाल्देनको छायांकन र सुजन परियारको कस्टुम डिजाइन रहनेछ । पदम पुरी सह निर्माता र विमला हुँमागाइँ निर्माता रहेको फिल्मको प्रोडक्सन म्यानेजर करन सिंह हुन् । निर्देशक सुवर्ण थापाले फिल्मले आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा भन्ने जानकारी दिए ।