मिडिया अवार्डसँग जोडियो ब्लु चिप

काठमाडौं । नेपालमा पहिलो पटक सञ्चारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘नेपाल मिडिया अवार्ड’ मा दुबईमा रहेको ब्लु चिप इन्भेष्टमेण्ट कम्पनी सह–प्रायोजकका रुपमा जोडिएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन लिमिटेड मुख्य प्रायोजक रहेको यो अवार्डका लागि आयोजक संस्था ड्रिम हाइ नेपाल र ब्लु चिप इन्भेष्मेन्ट कम्पनी बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

दुबईमा ट्रेडिङ विजनेश लगायतका विभिन्न क्षेत्रमा ठूलो लगानी गरेको ब्लु चिप इन्भेष्मेन्ट कम्पनीले बलिउड र दक्षिण भारतीय कयौं फिल्ममा लगानी पनि गरेको छ । ब्लु चिपका सिइओ रविन्दरनाथ सोनीले नेपालमा हुने अवार्ड कार्यक्रममा जोडिन पाएकोमा खुसी व्यक्त गरेका छन् । आगामी दिनमा नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न लागेको पनि उनले जानकारी दिए । अवार्डमा सहभागी हुन उनीसहितको टिम नेपाल आउने तयारीमा छ ।

ब्लू चिप एफएक्स र लालचन बिल्डर्स (सोम लालचन) ले पनि सहकार्य गरेको ‘नेपाल मिडिया अवार्ड’ को कार्यक्रम निर्मात्रीमा पुनम यादव रहेकी छन् । उनले यसअघि केही हिन्दी गीत निर्माण गरिसकेकी छन् भने चाँडै नेपाली र बलिउड फिल्म निर्माण गर्ने तयारीमा समेत छिन् । उनले नेपालको अवार्डलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने आफूहरुको योजना रहेको बताइन् । उनी अवार्ड कार्यक्रमलाई स्तरीय र भव्य बनाउन कुनै कसर नछाड्ने बताएकी छन् । त्यस्तै, ड्रिम हाइ नेपालका अध्यक्ष कमल जिसीले ब्लूचिपसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघसँगको सहकार्यमा आयोजना हुन लागेको ‘नेपाल मिडिया अवार्ड’ मा टेलिभिजन, छापामाध्यम, एफएम रेडियो र अनलाईन पत्रकारिताअन्तर्गत सञ्चारमाध्यम र सञ्चारकर्मीको पछिल्लो एक वर्ष यताको उपस्थिति र प्रस्तुतीलाई आधार बनाएर सम्मान प्रदान गरिने आयोजक संस्थाका प्रमुख कमल जिसिले जानकारी दिए । यो अवार्डसँग होटल एशोसिएसन स्पोन्सरको रुपमा डबल ट्रि बाई हिल्टन पनि जोडिएको छ ।