सौगात र बुद्धिको ‘घोडा’ किस्सा

काठमाडौं । अभिनेता सौगात मल्ल र बुद्धि तामाङका लागि फिल्म ‘मन्त्र’को सुटिङ अघिल्ला फिल्महरु भन्दा केही फरक बन्यो । मनास्लु हिमालको छेउमा रहेको एक गाउँमा यो फिल्मको सुटिङ गर्न जाँदा उनीहरु घोडा चढ्नु पर्ने दृश्य थियो । तर दुवैले चढ्ने घोडाको स्वभाव भिन्न थियो ।

फिल्मको ट्रेलर सार्वजनिक गर्न आइतबार राजधानीमा भएको कार्यक्रममा सौगातले घोडाको किस्सा सुनाउँदा छेउमा बसिरहेका बुद्धिले हाँसोलाई थाम्न सकेनन् । ‘मैले चढेको घोडा अलिक रिसाहा किसिमको परेछ । मैले चढेको घोडा सजिलो भन्दा अप्ठ्यारो बाटोमा हिँड्न रुचाउँथ्यो । अझ भनौं भीर र काँडा भएको बाटोमा हिँड्न खप्पिस रहेछ’, सौगात भन्दै थिए, ‘बुद्धिको चाहिँ अलिक सोझो घोडा परेछ । तर सोझो भएर पनि घोडाले बुद्धिलाई लडाएरै छाड्यो ।’

सौगातले यसो भनिरहँदा बुद्धि पनि के कम । उनले पनि आफूलाई घोडाले काँडाघारीमा झारेको स्मरण गरे । ‘घोडाको दौड खिच्ने काम भइरहँदा म चढेको घोडाले मलाई काँडाघारीमा झारिदियो । जसोतसो फिल्म युनिट आउनुभयो र उठाउनुभयो’, बुद्धिले सम्झिए ।

सौगात र बुद्धिसँगै अभिनेत्री दिया पुनको अभिनय रहेको फिल्मको ट्रेलरले हिमाली भेगको प्रेमकथा देखाउँछ । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस्ले डिभाइन इन्टरटेनमेन्ट र डीएस प्रोडक्सनसँग सहकार्य गरी निर्माण गरेको फिल्मको निर्देशक निर्देशक खिलबहादुर गुरुङ हुन् । फिल्म २०७९ साल वैशाख १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

फिल्मका निर्देशक गुरुङले करिब ५१ सय मिटर भन्दा माथिको उचाइ मनास्लु हिमालको आधारशिविरसम्म पुगेर निकै नै मेहनतका साथ फिल्मको छायांकन गरिएको बताए । फिल्ममा नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ टि शेर्पालगायतको पनि अभिनय छ ।

देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ । राजेश जंगको सह निर्देशन रहेको फिल्ममा सह—निर्माताको रुपमा भीमसेन केसी र विशेष सहयोगी अमृत थापा रहेका छन् । फिल्मको डिजीटल राइट्स एट के एभरेस्ट मोसन पिक्चर्सले लिएको छ ।

साम्तेन भुटिया, सुनिल नेउरे, परिच्छेद सेनको लेखन रहेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत छ ।