टेलिभिजनमा शिवको जोगिन्दर मुखियाजी

काठमाडौं । कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले नयाँ कमेडी टेलिभिजन शो ‘जोगिन्दर मुखियाजी’ नामक शो ल्याउने भएका छन् । यो शो ग्लोबल एचडी टिभीबाट यही बिहीबारदेखि साँझ ७:३० बाट प्रसारणमा आउँदैछ । शो प्रत्येक बिहीबार प्रसारणमा आउनेछ ।

यस अगाडि हिमालयन टेलिभिजनमा चर्चित कार्यक्रम ‘जोगिन्दर पानवाल’ मार्फत दर्शकको मन जित्न सफल उनी डेढ बर्षपछि नयाँ टेलिभिजनमा देखिन लागेका हुन् । ‘जोगिन्दर मुखियाजी’ एक पुर्ण मनोरन्जनात्मक शो भएको उनले जानकारी दिए ।

‘हाम्रो तराईमा मुखियाजीलाई सबैले मान्ने गर्छन् । गाउँ , टोल वा वडामा धेरै फैसला मुखियाजीकै आधारमा हुने गर्थे’ उनले भने ‘त्यही पात्रलाई टेलिभिजन शोमा ल्याउन लागेको हो ।’ कार्यक्रमको पहिलो एपिसोड उनले पुर्वमन्त्री लालबाबु पण्डितलाई अतिथि बनाएको सुनाए ।

जोगिन्दरको क्यारेक्टरलाई जीवित राख्दै मुखियाजी मार्फत आगामी कला यात्रालाई अगाडी बढाउने योजना उनको रहेको छ । शोमा रिजालले आफ्नो गेटअप र पहिरन समेत तराईका मुखिया झै गर्नेछन् ।

रिजाल फिल्म, टेलिचलचित्र, कमेडी शोका अलवा स्टेज कार्यक्रममा पनि व्यस्त रहने कलाकार हुन् । उनी यस अगाडि टेलिभिजन कार्यक्रमको कारणले ‘जोगिन्दर पानवाल’ भनेर चिनिदै आएका छन् ।