काठमाडौं । छायाँछवि क्रियशनले डि सिने अवार्डको अवसर पारेर हरेक वर्ष प्रदान गर्दै आएको सम्मान एवं पुरस्कारको घोषणा गरेको छ । छायाँछवि क्रियशनले डि सिने अवार्डसको अवसरमा छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष÷महिला) एवं छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
छायाँछवि क्रियशनले यस वर्ष ‘छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड’ नेपालकै पहिलो फिल्म ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गरी प्रथम नायिकाको उपमा पाएकी भुवन चन्दलाई प्रदान गर्ने भएको छ । २०२२ सालमा निर्मित ‘आमा’ पछि चन्दले ‘हिजो आज भोली’, ‘दुई थोपा आँसु’, ‘कोशेली’, ‘सिमा रेखा’, ‘नेपाली बाबु’लगायत धेरै फिल्महरुमा अभिनय गरेकी छिन् ।
त्यस्तै यस वर्षको ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष)े’ अभिनेता विजय लामालाई प्रदान गर्ने भएको छ । २०४१ सालमा रिलीज फिल्म ‘आदर्श नारी’बाट विजय लामाले आफ्नो अभिनय यात्रा प्रारम्भ गरेका थिए । लामाले ‘कोशेली’, ‘चोखो माया’, ‘ट्रक ड्राइभर’, ‘आर्मी’, ‘होमवर्क’, ‘इन्टुमिन्टु लण्डन’मा लगायतका करिब दुई दर्जन फिल्ममा अभिनय गरेका छन् । केही हलिउड फिल्ममा समेत अभिनय गरेका लामा नेपाल एयरलाइन्सका सिनियर पाइलट हुन् ।
यस्तै ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान (महिला)’ झरना थापालाई प्रदान गर्ने भएको छ । थापाले २०५३ सालमा फिल्म ‘दाइजो’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी हुन् । उनले ‘धर्मसंकट’, ‘गोर्खाली’, ‘बादल पारी’, ‘जिवनसाथी’, ‘पुर्णिमा’, ‘ए मेरो हजुर’, ‘मेरी आमा’, ‘बिदाई’, ‘ओम’लगायतका फिल्ममा अभिनय गरेकी छन् । उनले फिल्म ‘ए मेरो हजुर २’बाट निर्देशनमा समेत पाइला चालेकी छन् ।
यस्तै ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ विष्णु सुवेदीलाई प्रदान गरिने भएको छ । पर्वतमा जन्मिएका सुवेदीले रेडियोमा काम गर्दै पत्रकारितामा प्रवेश गरेका हुन् । शुरुमा रेडियो तथा पत्रिकामा एकै पटक काम गरी प्रवेश गरेका सुवेदी यतिखेर आफ्नै लेन्सनेपाल डटकम वेबमा कार्यरत छन् । मूलतः रंग पत्रकारितालाई नै आत्मसात गर्दै रेडियोमा एवं पत्रपत्रीका हुदै टिभीमा प्रस्तोता–रिपोर्टर तथा प्रोड्युसर हुँदै टीभी फिल्मीको स्टेशन म्यानेजरका रुपमा सुवेदीले कार्यगत अनुभव संगालेका छन् ।
छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले यो सम्मान तथा पुरस्कार चैत्र २६ गते धुलिखेल सनराईज रिसोर्टमा हुने १२ औं छायाँछवि डि सिने अवार्डका अवसरमा प्रदान गरिने जानकारी गराए ।