काठमाडौं । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले विभिन्न पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई ८४ औं उमेरको उपलक्ष्यमा अभिनन्दन र पुरस्कार प्रदान गरेको छ ।
प्रतिष्ठानले मंगलबार काठमाडौमा आयोजना गरेको विविध पुरस्कार एवम अभिनन्दन कार्यक्रममा लोकेन्द्रसहित विभिन्न स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो । प्रतिष्ठानले २०७५ सालको १ लाख रुपैया राशीको ‘मणिराज वाङ्मय पुरस्कार’ पूर्व प्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्द र २०७६ सालको सोही पुरस्कार साहित्यकार डा. तुलसी भट्टराईलाई प्रदान गरेको छ ।
यसैगरी ‘गोदावरी प्रतिभा पुरस्कार’ दीपकप्रकाश बास्कोटालाई प्रदान गरिएको छ । यसरी नै ‘स्वामी खप्तड स्वामी सचितानन्द सरस्वती पुरस्कार’ साहित्यकार भरतराज पौडेललाई प्रदान गरिएको छ । प्रतिष्ठानले ‘शास्त्री देवराज आचार्य पुरस्कार २०७६’ प्रा.डा. रामचन्द्र भट्ट र ‘खड्गबहादुर प्रतिभा पुरस्कार’ लक्कीबहादुर चौधरीलाई प्रदान गरेको छ ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री चन्दले डा. तुलसी भट्टराईद्वारा लिखित ‘सुनेको चिन देखेपछि’ नामक यात्रा वृत्तान्त पुस्तकसमेत लोर्कापण गरेका थिए ।