नगरकोट दोहोरी साँझ उत्कृष्ट

काठमाडौं । विभिन्न ६० वटा लोकदोहोरी टोलीलाई उछिन्दै काठमाडौंको ठमेलस्थित नगरकोट दोहोरी साँझले ‘छैटौं टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता—२०७८’ को उपाधि जितेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको प्रतियोगितामा नगरकोट दोहोरी र गामबेसी दोहोरी साँझ काठमाडौंबीच निर्णायक प्रतिष्पर्धा भएको थियो ।

प्रतियोगितामा मुलुकका ४५ भन्दा बढी जिल्लाबाट विभिन्न ६१ वटा टोली सहभागी थिए । नगरकोट दोहोरी साँझको टोली जीवन सिग्देल र अस्मिता डल्लाकोटी उत्कृष्ट भए । उनीहरुले लोकदोहोरी तर्फको राष्ट्रिय रनिङ शिल्डसँगै २ लाख ५० हजार रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा दोस्रो भएको गामबेसी दोहोरी साँझ काठमाडौंका अर्जुन खड्का र शान्ता ओलीले ट्रफी, पदक र १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा काठमाडौंको क्विन रोदी क्लब र लुम्बिनी प्रदेश लोक तथा दोहोरी गीत प्रतिष्ठान तृतीय भए । तेश्रो हुने टोलीले १ लाख रुपैयाँ सहित ट्रफी, पदक र प्रमाणपत्रप्राप्त गरेका छन् । क्विन रोदी क्लबका श्याम राना र हरिमायाँ रायमाझीसँगै लुम्बिनी प्रदेश लोक तथा दोहोरी गीत प्रतिष्ठानका बिक्रमबाबु बिश्वकर्मा र लक्ष्मी बस्नेतले तृतीय स्थान हासिल गरेका हुन् ।

आयोजक राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, संरक्षक पृथ्बी थकालीसहित पूर्व अध्यक्ष तथा अन्य अतिथिले उनीहरुलाई कार्यक्रममा पुरस्कार प्रदान गरे । शनिबार नै कार्यक्रम सक्ने भनिए पनि शनिबार प्रतिस्पर्धा नसकिएपछि आईतबार उत्कृष्ट १६ बीच क्वाटर फाईनल, सेमी फाईनल हुँदै फाईनल खेल भएको थियो ।

यसै गरी यस प्रतियोगितामा समुन खड्का, राजु लामिछानेले उत्कृष्ट पुरुष कलाकारको तथा पुजा पुन र अर्चना चापागाईले उत्कृष्ट महिला कलाकारको पुरस्कार जिते । उनीहरुले पुरस्कार स्वरुप जनही १० हजार रुपैयाँ र प्रमाणपत्र पाए । यस्तै अनुशासित टिमको पुरस्कार ओखलढुँगा लोक दोहोरी प्रतिष्ठान टिमले हाँसिल गरेको छ । उत्कृष्ट अनुशासित टिमको पुरस्कार स्वरुप उनीहरुले प्रमाणपत्र र १० हजार रुपैयाँ पाए । प्रतियोगितामा निकै राम्रा गीत गाएका नव कलाकार निशान्त विक र दिल कुमारी बिकले नव प्रतिभा प्रोत्साहन पुरस्कार स्वरुप जनही ५ हजार रुपैयाँ र प्रमाणपत्र पाए । यसै गरी भद्रकाली आमा समुहलाई प्रोत्साह पुरस्कार स्वरुप ५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो ।