काठमाडौं । नेपाली कलाकारहरुले स्थापना गरेको ‘सिन्धु सहयोग कोष’ मार्फत शुक्रबार एक कार्यक्रमको आयोजना गरी मेलम्ची बाढीपीडित बस्ती निर्माणका लागि संकलित रकम हस्तान्तरण गरिएको छ ।
प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुलाई एकीकृत बस्ती निर्माण गर्नको लागि कलाकारले स्थापना गरेको कोषमार्फत मेलम्ची बाढीपीडित एकीकृत बस्ती निर्माण समितिलाई ९ लाख ९ हजार १ सय ६८ रुपैंयाँ हस्तान्तरण गरिएको हो ।
कोषका संयोजक अभिनेता कृष्ण मल्लले समितिका अध्यक्ष कृष्ण थापालाई रकम हस्तान्तरण गरेका थिए । कोषको सह—संयोजकमा अभिनेत्री करिश्मा मानन्धर रहेकी छिन् भने कोषको सदस्य—सचिवमा कृष्ण ढुंगाना, कोषाध्यक्षमा जीतु नेपाल, सह—कोषाध्यक्षमा चेतन सापकोटा तथा सदस्यहरुमा अभिनेत्री श्वेता खड्का, गायिका सुनिता दुलाल, अभिनेत्री पूजा शर्मा तथा अभिनेता भुवन केसी रहेका थिए ।