एकल साँझमा गणेशलाई पैसाको माला

काठमाडौं । कौडा किङ तथा गायक, सर्जक, संगीतकार गणेश गुरुङको एकल साँझ राजधानीमा सम्पन्न भएको छ । ग्रामीण पर्यटन व्यवस्थापन समितका सदस्य आशबीर गुरुङको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा संघीय परिषद जनता समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।

साँझमा गायक गुरुङले विभिन्न चार चरणमा गायन प्रस्तुत गरेका थिए । पहिलो चरणमा उनले आयो ल्होसार, पिपलु छायाँ, दाइ त मेरो लाहुर जाने गीत प्रस्तुत गरेका थिए । दोस्रो चरणमा उनले गुरुङभाषाको गीत देउराली र प्रेनोङलाई, ओछेनारा म्हैना, ङैङ्योल्स्यो रानी प्रस्तुत गरेका थिए ।

त्यस्तै तेस्रो चरणमा मनकामना केबलकारमा चोक, याद आउँछ बेसरी, बरपिपलको छायाँ, सल्ला धुपैले गीत प्रस्तुत गरेका थिए । त्यस्तै चौथो चरणमा गायक गुरुङले सुनको औंठी, तल्लो ग्याजा गावै रमाइलो, जूनसरी माया गीत प्रस्तुत गरेका थिए । उनलाई सहगायनमा गायिका दुर्गा गुरुङ, छनु गुरुङ, भीमु गुरुङ, पवित्र गुरुङ, विष्णुमाया गुरुङ, शर्मिला गुरुङ, बीमा कुमारी दूरा, माया गुरुङ, तारा श्रीष, बबिता गुरुङ, विद्या गुरुङ, दुर्गा परियार, गायकहरु राजु गुरुङ, शिशिर गुरुङ लगायतलै साथ दिएका थिए ।

कार्यक्रममा गायक गुरुङलाई विभिन्न संघसंस्थालै पैसाको माला, खादा र फूल दिएर सम्मान व्यक्त गरेका थिए । विश्वामा छरिएर रहेका नेपालीहरु गणेश गुरुङ एकल साँझ हेर्नकै लागि नेपाल आएका थिए ।

गोरखा जिल्ला मनकामना–८ हाल सहिदलखन गाउँपालिकामा बुबा नरबहादुर गुरुङ र आमा सावित्री गुरुङको जेठो सन्तानका रुपमा जन्मिएका गायक गणेश गुरुङ लोकदोहोरीमा एउटा चर्चित नाम हो ।

करिब एक दर्जन एल्बम बजारमा ल्याएका गुरुङको वरिपिपलको छायाँ, ल्वाङसुपारी, ढल्की ढल्की नाच्यो मजुर, रोधी घरैमा, कौडा, सालैजो, आयो ल्होसार, सल्ला धुपैले, गोरखा मनकामना, रहर, गोगन पानीमा, सुनको औठी, दाइ त मेरो लाहुर जाने, गोरखा मनकामना, गोरखा डाँडा, सिरानचोक, गाउँ चिनारी गीत लगायत तीन सय भन्दा बढी गीतहरु बजारमा आइसकेका छन् भने चार दर्जनभन्दा बढी कौडा, सालैजो गीतहरु बजारमा रहेका छन् । २५ भन्दा बढी गुरुङ चलचित्रमासमेत गायन, संगीत र अभिनयका माध्यमले क्रियाशील रहेका गायक गुरुङ पछिल्लो समय कौडा किङका रुपमा पनि परिचित छन् ।