अल्लू अर्जुनलाई जरिवाना

मुम्बई(एजेन्सी) । बक्सअफिसमा सफलताको झण्डा गाढिसकेको फिल्म ‘पुष्पाः द राइज’मा अभिनेता अल्लू अर्जुनले कैयौं नियमको उल्लंघन गरेका थिए । अब यी अभिनेताले वास्तविक जीवनमा पनि कानूनको उल्लंघन गरेका छन् । जसका लागि उनले जरिवाना नै तिर्नु परेको छ ।

समाचारअनुसार हालैमात्र उनले ट्राफिक नियम उल्लंघन गरेपछि हैदराबाद प्रहरीले उनलाई नियन्त्रणमा लिएर जरिवाना तिराएको छ । अल्लू आफ्नो लग्जरी कार लेण्ड रेज रोवरबाट कतै जाँदैथिए, त्यही बेला उनलाई ट्राफिक नियमको उल्लंघन गरेको आरोपमा हैदराबाद प्रहरीले ७ सय रुपैंयाँका रसिद काटेको थियो ।

अल्लूको यो कारको शीशा कालो थियो । जसकारण उनको कारलाई हैदराबाद प्रहरीले बिजी सेन्टरमा रोकेको थियो । किनकी भारतमा कारमा कालो शिशायुक्त ढोका लगाउनु प्रतिबन्ध छ । यसको बाबजुद अल्लूले कारमा कालो शीशाको प्रयोग गरेका थिए । यो मामलामा प्रहरीले यी सुपरस्टारलाई कुनै सर्वसाधारण व्यक्तिलाई झैं कानूनी व्यवहार गरेको हो ।

कालो शीशाका कारण फिल्मी कलाकारहरु कारवाहीमा परेको यो पहिलो घटना होइन । अल्लूअघि जूनियर एनटीआर, तेलुगु निर्देशक त्रिविक्रम श्रीनिवास, कल्याण राम र माञ्चू मनोजको गाडीमा पनि कालो शीशा राखिएपछि हैदराबाद ट्राफिक प्रहरीले उनीहरुलाई बाटोमा रोकेर जरिवाना तिराएका थिए ।