काठमाडौं । नेपाल वायुसेवा निगमका क्याप्टेन तथा अभिनेता विजय लामाको पिता हेमबहादुर लामाको आइतबार दिउँसो निधन भएको छ । दुई हप्तादेखि अस्वस्थ रहँदै आएका हेमबहादुरको मनमोहन अस्पतालमा निधन भएको हो ।
हेमबहादुर नेपाली फिल्म ‘आदर्श नारी’का निर्माता तथा निर्देशकसमेत हुन् । यही फिल्मबाट विजयले फिल्ममा पाइला चालेका थिए । लामालाई २०७७ साल चैतमा चलचित्र निर्देशक समाजले १३ औं साधारण सभामा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानसमेत गरेको थियो ।
‘आज दिउँसो १ः१५ बजे मेरो हातमा उहाँले अन्तिम सास लिनु भयो,’ लामाले फेसबुकमा लेखेका छन्– ‘मेरो आमाले पनि यसै गरि मेरो हातमा अन्तिम सास लिनुभएको थियो १९९७ को सेप्टेम्बरमा ।’
विजयका अनुसार हेमबहादुरको सोमबार बुद्ध जयन्तीको दिन पारेर बालुवाटारस्थित निजी निवासमा अन्तिम बिदाई गरिनेछ । उनको दिउँसो २ बजे स्वयम्भूनाथ घाटमा अन्तिम संस्कार गरिनेछ ।