काठमाडौं । सौगात मल्ल, सलोन बस्नेत र जेवी डिसीको मुख्य भुमिका रहेको फिल्म ‘घनचक्कर’को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै असार १० गतेबाट सिनेमा रिलिज हुने जानकारी दिएको छ ।
भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको फिल्ममा करुना अर्याल र संगम भट्टको लगानी छ । सार्वजनिक पोस्टरमा सौगात र सलोनको रिसदेखि फिल्मका प्रमुख कलाकारलाई स्थान दिइएको छ ।
फिल्ममा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह–निर्माताको रुपमा रहेका छन् । फिल्ममा सरोज खनाल, कस्मिरा लाम, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको पनि अभिनय रहेको छ ।
सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ । फिल्म सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मसले वितरण गर्दैछ ।