ग्लोबल लिटिल स्टारको तयारी

काठमाडौं । बालबालिकाहरुको सौन्दर्यतासँगै क्षमता अभिवृद्धि तथा भित्री कलालाई बाहिर ल्याउने र सबैमाझ प्रस्फुटन गर्ने उद्देश्यसहित काठमाडौमा राठी केबलको मुख्य प्रायोजनमा ‘राठी केबल ग्लोबल लिटिल स्टार’ को पहिलो संस्करण आयोजना हुने भएको छ । साइमन फिल्म्स एण्ड इन्टरटेनमेन्ट मुम्बईको व्यानरमा ओजस फिल्म्स एण्ड इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको प्रतियोगितामा काठमाडौ, ललितपुर र भक्तपुरका ७ देखि १५ वर्ष उमेर समूहले सहभागिता जनाउनेछन् ।

बालबालिकाहरुको ब्युटी प्याजेन्ट आयोजना गर्ने कम्पनीको रुपमा परिचित साइमन फिल्म्स एण्ड इन्टरटेनमेन्ट मुम्बईले यसअघि प्रदेश १ मा पुर्वान्चल लिटिल स्टार आयोजना गरिसकेको छ । यही कम्पनीबाट फ्लायर्स फिल्म अवार्ड आयोजनाको पनि घोषणा गरेको छ ।

प्रतियोगिता विजेताहरुले ‘वल्र्ड किड्स ब्युटी प्याजेन्ट’ मा सिधै सहभागीताको मौका पाउनेछन् । यस्तै विजेता तथा उप–विजेताहरुले ५ लाख लागतमा बन्ने हिन्दी गीतको म्युजिक भिडियोमा फिचर्ड हुने मौका समेत पाउनेछन् । जुन गीतलाई भारतको ‘सारेगमप लिटिल च्याम्प्स’मा पुगेर तहल्का पिटेका बालगायक प्रितम आचार्यले गाएका छन् । यसको म्युजिक भिडियोमा पुर्वान्चल लिटिल स्टारका बिजेता र उप–बिजेताहरु पनि फिचर्ड हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको कोरियोग्राफरको रुपमा अशिमा दूतराज रहनेछिन् । उनी फेसन मोडल हुन भने पुर्वान्चल लिटिल स्टारको ३ ओटै संस्करणको कोरियोग्राफी गरेकीछन् । यस्तै कार्यक्रमको निर्देशक नरेशवीर सिंह रहेका छन् । ग्लोबल लिटिल स्टारको आयोजक कम्पनीका प्रबन्ध निर्देशक साईमन राजवंशी हुन् ।

प्रतियोगिताका सहभागीलाई निर्माण हुन लागेको नयाँ फिल्म ‘प्रधान द लिडर’मा अभिनय गराइने आयोजकले जनाएको छ । यो फिल्म हिन्दी, नेपाली, भोजपुरी र राजवंशी गरी ४ भाषामा तयार हुँदैछ ।