स्टार म्यूजिक भिडियो अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं । नेपाली गीत संगीतको विकास र श्रष्टाको सम्मानका लागि ग्रेट नटराज फिल्मस्को आयोजनामा पहिलो ‘स्टार म्युजिक भिडियो अवार्ड २०२२’ आयोजना हुने भएको छ । ‘नेपाली गीत संगीत र संस्कृति संरक्षण हाम्रो अभियान, राष्ट्रिय एकता सहितको हाम्रो पहिचान’ भन्ने नारा सहित आयोजना हुन लागेको यो अवार्ड विभिन्न ४६ विधामा प्रदान गरिने भएको छ । गत मंगलबार काठमाडौंमा एक समारोहबीच यो अवार्डको मनोनयन सार्वजनिक गरिएको थियो ।

साहित्यकार तथा नेकपा माओबादी केन्द्र बागमती प्रदेश इन्चार्ज सरल सहयात्रीको प्रमुख आतिथ्यमा अग्रज पत्रकार शान्तिप्रिय, चलचित्र निर्देशक राजु केसी, म्युजिक भिडियो निर्देशक उज्ज्वल केसी, अभिनेत्री तथा मोडल दिपाशा बिसीलगायतले मनोनयनमा परेकाहरुलाई प्रमाणपत्र वितरण गरेका छन् ।

यो अवार्ड आधुनिक, पप, लोक दोहोरी, लोक, भाषाभाषी, राष्ट्रिय गीत जस्ता विभिन्न विधामा प्रदान गरिने भएको छ । जसमा गायक गायिका, संगीतकार, गीतकार, भिडियो निर्देशक, मोडल, छायाँकार, सम्पादक, संगीत संयोजक, बाल कलाकार, मेकअप आर्टिस्ट जस्ता विभिन्न विधामा मनोनयन सार्वजनिक गरिएको हो ।

गीत संगीतको प्रवर्धन गर्ने उदेश्यले अयोजना गर्न लागिएको यस्ता अवार्डले सम्बन्धि श्रष्टालाई थप सृजनामा अझ उर्जा मिल्ने साहित्यकार सरल सहयात्रीले कार्यक्रममा बताए ।

यो अवार्डको ग्रान्ड फिनाले आगामी २८ जेठमा काठमाडौंको अलफ्ट होटलमा प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष अशोक बिकले बताएका छन् । आफुहरुले बिगत लामो समय देखि नेपाली गीत संगीत क्षेत्रमा काम गर्दै आएको र संगीत क्षेत्रका अग्रजलाई सम्मान तथा नयाँलाई प्रोत्साहन गर्ने उदेश्यले यो अवार्ड आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष विकले बताएका छन् ।