लण्डनमा पाँच दिने नेपाली फिल्म फेस्टिभल

काठमाडौं । थर्ड आईको आयोजनामा बेलायतको राजधानी लण्डनमा पाँच दिने ‘नेपाली फिल्म फेस्टिभल’ हुने भएको छ । काठमाडौंमा शनिबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस्का अध्यक्ष मनोज केसीले पाँच दिनसम्म १० वटा चलचित्र प्रदर्शन गरिने जानकारी दिए ।

थर्ड आईका प्रमुख विकास देवकोटाको सक्रियतामा आयोजना हुन लागेको महोत्सवमा नेपालबाट करिब ३ दर्जन फिल्मकर्मी, पत्रकार, विज्ञापनदाता तथा विभिन्न क्षेत्रका मानिसहरुको सहभागीता रहनेछ । मनोजका अनुसार महोत्सवको अन्तिम दिन फिल्मकर्मीहरुलाई सम्मानित समेत गरिनेछ । यो महोत्सव भदौको अन्तिममा हुने आयोजकले जानकारी दिएको छ । यसका लागि तयारी समेत सुरु भैसकेको बताइएको छ ।

आयोजकले अब महोत्सवमा प्रदर्शन गरिने फिल्महरुको छनोट प्रक्रिया सुरु गरिएको बताएको छ । युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रशारण नभएका तर हलमा मात्र रिलिज भएका फिल्महरु मध्येबाट १० वटा फिल्मलाई महोत्सवमा सहभागी गराइनेछ ।

कार्यक्रममा कलाकार नीर शाह, अभिनेत्री करिश्मा मानन्धर, निरुता सिंह, अभिनेता सरोज खनाल लगायतले शुभकामना दिएका थिए । कलाकार निर शाहले यस्तो खालका कार्यक्रमले नै विश्व बजारमा नेपाली फिल्म पुग्ने बताए ।