भिक्टोरिया गाथामा गोर्खाः विनिथ द ब्रेभरी

काठमाडौं । गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित भएर फिल्म ‘गोर्खा: बिनिथ द ब्रेभरी’ निर्माण भएको छ । इंग्ल्याण्ड र बेलायतमा छायांकन भएको फिल्मको यतिबेला लन्डनमा पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक प्रदीप शाहीले जानकारी दिए । चलचित्रलाई आगामी साउन मध्यतिर प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।

२५ सेप्टेम्बर १९१५ मा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । उनै कुलवीर थापाको कथामा यो फिल्म बनेको हो ।

निर्देशक शाहीले जोखिम मोलेर विश्व शान्तिको लागि लड्ने पुर्खाहरुलाई श्रद्दाञ्जलीका लागि फिल्म निर्माण गरेको बताए । ‘फिल्मले गोर्खालीहरु जति बहादुर छन् त्यति नै दयालु हृदयका पनि बहादुर छन् भन्ने देखाएका छौं । विश्व युद्धमा घाइतेहरुलाई गोर्खा सैनिकले नै उद्धार गरेका थिए, सोही कुरा फिल्मको विषय हो । आत्म–त्याग, करुणा र मित्रताको कथामा फिल्म बनेको हो,’ उनले भने ।

शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ । फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर चलचित्र बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् ।

फिल्ममा मधु गुरुङ र प्रयास गुरुङ निर्माता तथा क्षितिज सुवेदी कार्यकारी निर्माता हुन् । फिल्ममा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, रुपेश गुरुङको सम्पादन, विश्व शाहीको संगीत, अश्रुती पटेलको कला निर्देशन, एरमान जम्बकको भिएफएक्स, बेलेन सिलोगुल्लरको कलर र रबिन श्रेष्ठको साउन्ड ट्रयाक रहेको छ ।