हिरासतबाट छुटेपछि फुर्पासँग मिरुनाको सहमति

काठमाडौं । प्रदर्शनरत फिल्म ‘कबड्डी ४’ की अभिनेत्री मिरुना मगर र सोही फिल्म हेर्दा आएका दर्शक फुर्पा तामाङबीच भएको विवादको समाधान भएको छ । आइतवार सिभिल हलमा आफूमाथि लामाले दुव्र्यवहार गरेको भन्दै सार्वजनिक स्थलमा थप्पड हानेपछि उनले प्रहरीलाई जिम्मा लगाएकी थिइन् ।

फुर्पा दुई दिन हिरासतमा बसेपछि मंगलबार ३ हजार रुपैंयाँ धरौटीमा छुटेका थिए । धरौटीमा तामाङ छुटेपछि दुवै पक्षबीच मिलापत्र भएको थियो ।

‘कबड्डी ४: द फाइनल म्याच’ हेर्ने दर्शकहरुसँग साक्षात्कार गर्ने क्रममा सिभिल मलको क्यूएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि अभद्र व्यवहार सम्बन्धि घटनामा मुगु घर भएका फुर्वा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मिरुना मगरसमक्ष माफी मागेको र अभिनेत्री मिरुना मगरले भाई सम्झेर माफी दिएकी छन्,’ दुवैद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

दुवैद्वारा हस्ताक्षरित विज्ञप्तीमा अभिनेत्री मगरले कुनै जाती, धर्म, सम्प्रदायप्रति पुग्ने आशयले कुनै कार्य नगरेको भएपनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित भएको घटनाबाट सिंगो बौद्ध धर्मालम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायमा पर्न गएको असरप्रति क्षमायाचना पनि गरेको पत्रमा उल्लेख छ । मिरुना र फुर्वाले आगामी दिनमा यस विषयमा विवाद नगर्ने प्रतिबद्धता जनाएका छन् ।

यही विषयलाई लिएर मंगलवार बौद्ध धर्मालम्बीहरुले चाबहिलमा मिरुना र ‘कबड्डी ४’विरुद्ध प्रदर्शन गरेका थिए । केही युवाले चलचित्र विकास बोर्ड पुगेर अभिनेत्रीले माफी नमागेसम्म ‘कबड्डी ४’को शो बन्द गर्ने ध्यानाकर्षणपत्र बुझाएका थिए ।