रानीले ल्याइन् धेरै प्रश्न

काठमाडौं । गायिका रानी शाक्यले आफ्नो नयाँ गीत ‘धेरै प्रश्न’को भिडियो दर्शकमाझ ल्याएकी छिन् । रानी शाक्य नामक युट्युब च्यानलमा शुक्रबार रिलिज भएको उक्त भिडियोको निर्देशन दीपेन्द्र लामाले गरेका हुन् । भिडियोमा पुष्प खड्का, सलिना खत्री र कृष्ण सिवाकोटीले अभिनय गरेका छन् ।

राजेश शाक्यको शब्द र कल्याण सिंहको संगीत समेटिएको गीतको भिडियो काठमाडौंका विभिन्न स्थानमा खिचिएको हो । भिडियोमा बुद्ध थापाको छायांकन, कृष्ण भण्डारीको सम्पादन, निर्मला खत्रीको कोरियोग्राफी र समरा जोशीको शृंगार रहेको छ ।

भिडियोमा एक पुस्तकप्रेमी युवती र युवकको विछोडको कथालाई ननलिनियर शैलीमा देखाइएको छ । जसलाई माया गरिन्छ, उसको प्रतीक्षामा बाँच्नु निकै नै मिठो हुन्छ । ऊ चाहे जुनसुकै दुनियाँमा वा जहाँसुकै होस्, ऊ टाढा भइहाले पनि ऊसँग जोडिएका प्रश्नहरु नजिकै हुन्छन् र ती प्रश्नले विगतका क्षणहरु झन् ताजा बनाइदिन्छन् । निर्देशक लामाका अनुसार भिडियोमा यस्तै मनोभावलाई प्रस्तुत गरिएको छ ।

पछिल्लो समय निरन्तर गीत र भिडियो पस्किरहेकी गायिका रानी शाक्यले यसपटक अलि भिन्न संरचनाको भिडियो तयार पारिएको बताइन् । आफ्नो शब्द रचनालाई न्याय हुनेगरी भिडियो बनेकोमा गीतकार राजेश शाक्य खुसी छन् ।

लगभग ११ मिनेट लामो भिडियोलाई रसरंग मिडियाले प्रस्तुत गरेको हो । गायिका शाक्य र मोडल पुष्प खड्काबीचको यो छैटौं सहकार्य हो ।