भगत सर्वजितको कथामा सर्वजित घोषणा

काठमाडौं । दलित आन्दोलनका अभियन्ता भगत सर्वजित विश्वकर्माको बायोपिक फिल्म ‘सर्वजित’को घोषणा गरिएको छ । भगत सर्वजित विश्वकमा प्रतिष्ठानको स्वीकृतिमा दलित महिला केन्द्रले यो फिल्म निर्माण गर्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित एक विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले फिल्मको मुहुर्त गरे । फिल्मको निर्देशन दिनेश डिसीले गर्नेछन् । करिब एक करोड २५ लाखको लागतमा फिल्म निर्माण हुनेछ ।

कार्यक्रममा संस्कृति तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले फिल्म निर्माणमा आफूले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरे ।

बाग्लुङ, पाल्पा, पोखरा, काठमाडौं र भारतको बनारसमा छायांकन हुने फिल्ममा एनबी महर्जनको द्वन्द्व, एलिश कार्कीको पाश्र्व संगीत, मोहन निरौलाको संवाद, सौरभ लामाको छायांकन, जनक खड्काको पटकथा, नहकुल खड्काको सम्पादन, रमेशमान श्रेष्ठको एनिमेसन र अनन्त घिमिरेको भीएफएक्स तथा कलर करेक्सन हुनेछ । फिल्मको कलाकार भने फाइनल हुन बाँकी रहेको निर्माण पक्षले जनाएको छ ।