असार ३१ मा सम्झना बिर्सना

काठमाडौं । प्रेमकथानक फिल्म ‘सम्झना बिर्सना’ आगामी असार ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । गत जेठ ६ गते दर्शकमाझ आउने तयारीमा रहेको फिल्म स्थानीय तहको निर्वाचनका कारण प्रदर्शन हुन सकेको थिएन ।

निर्माता अद्वितीय प्रधानले फिल्म असार ३१ मा प्रदर्शन हुने जानकारी दिएका छन् । पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्मको निर्देशन निमेष प्रधानले गरेका हुन् । अद्वितीय प्रधानको प्रस्तुति र रेबिका प्रधान निर्माता रहेको फिल्ममा सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणाको अभिनय छ ।

दार्जिलिङ, सिलगुढी र सिक्किमका रमणीय स्थानमा खिचिएको फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ । निर्देशक निमेषकै कथा, पटकथा रहेको फिल्मको संवाद लेखनमा उनलाई अभिनेता राणाले सघाएका छन् ।

शिव ढकालको छायांकन रहेको फिल्ममा राजन इशान र सुदर्शन तामाङको संगीत, कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’ को सम्पादन छ । आदित्य फिल्म्सको प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्व.बिशारद बस्नेत हुन् । फिल्मको यसअघि ‘परेलीमा लुकाउछु’ बोलको गीत दर्शकमाझ आइसकेको छ ।