कसले कति फिल्ममा अभिनय गरे ?

मुम्बई(एजेन्सी) । बलिउडमा हरेक वर्ष कैयौं फिल्म बन्छन् । त्यसमा केही हिट हुन्छन् त केही फ्लप । तर फिल्ममा देखिएका कलाकारहरुले अहिलेसम्म कतिवटा फिल्ममा अभिनय गरेका छन् भन्ने सबैमा चासो नै रहन्छ । विश्वमा सबैभन्दा बढी फिल्ममा अभिनय गर्ने रेकर्ड दक्षिण भारतीय अभिनेत्री मनोरमाको नाममा छ ।

बलिउडमा यस्ता केही कलाकार छन्, जसले बलिउडमा सर्वाधिक बढी फिल्ममा अभिनय गरेका छन् । यो सूचीमा पहिलो नाम अभिनेत्री ललिता पवारको छ । ललितालाई बलिउडको ‘फस्र्ट लेडी’ पनि भनिन्छ । सन् १९२८ मा फिल्मी करियर सुरु गरेकी ललिताले सन् १९९८ सम्म करिब ७ सय फिल्ममा अभियन गरिन् । सन् ८० देखि ९० को दशकमा ललिता भिलेन चरित्रमा निकै लोकप्रिय रहिन् । उनले ‘चतुर सुन्दरी’, ‘श्री ४२०’, ‘दलेर’, ‘पृथ्वीराज चौहान’ जस्ता फिल्ममा अभिनय गरिन् । उनले रामानन्द सागरको प्रख्यात धार्मिक टेलिफिल्म ‘रामायण’मा मन्थराको चरित्रमा विशेष पहिचान बनाएकी थिइन् ।

सन् १९७४ मा फिल्मी करियर सुरुवात गरेका अभिनेता शक्ति कपूरले कैयौं उत्कृष्ट फिल्ममा अभिनय गरेका छन् । उनले करिब ७०० फिल्ममा काम गरेका छन् । सन् ८० देखि ९० को दशकमा उनी कमेडी र भिलेन चरित्रमा लोकप्रिय थिए ।

अभिनेता अनुपम खेरले ५ सय बढी फिल्ममा काम गरेका छन् । उनको फिल्मी करियरको सुरुवात सन् १९८४ को फिल्म ‘सारांश’बाट भएको थियो । यो फिल्ममा २९ वर्षका अनुपमले एक ६५ वर्षको व्यक्तिको भूमिका निर्वाह गरेका थिए ।

६ दशकदेखि बलिउडमा आफ्नो अलग पहिचान बनाएकी अरुणा इरानीले हालसम्म करिब ५ सय बढी फिल्ममा अभिनय गरिसकेकी छन् । उनले सन् १९६१ मा फिल्म ‘गंगा जमुना’बाट फिल्मी करियर सुरुवात गरेकी थिइन् ।

बलिउडमा कैयौं आइकोनिक भिलेनको भूमिका अभिनेता अमरीश पुरीले पनि निर्वाह गरेका छन् । उनले सन् १९६७ देखि सन् २००५ सम्म करिब ४ सय ५० फिल्ममा अभिनय गरे ।
अभिनेता ओम पुरीले पनि ३ सय ५० बढी फिल्ममा अभिनय गरिसकेका छन् । अभिनय र उनको स्वर जोकोही दर्शकका फ्यान हुन् ।