सर्ट फिल्म खोज्न एनएनटीभी सर्टस

काठमाडौं । उत्कृष्ट सर्ट फिल्म खोज्न नेपाल नेटवर्क टेलिभिजनले ‘एनएनटीभी सर्टस’ नामक प्रतियोगिताको घोषणा गरेको छ । ‘मेरो कथा, मेरो सिनेमा’ नारा दिइएको यस कार्यक्रमबारे बिहीबार राजधानीमा जानकारी दिँदै कार्यक्रममा सहभागिता जनाउन चाहने व्यक्ति वा समुहले आफूले निर्माण गर्न चाहेको सर्ट फिल्मको कथासार अनलाइनमार्फत पेश गर्न आव्हान गरेको छ ।

प्रतियोगितामा सुनिल थापा, पूजा शर्मा र दीपेन्द्र के खनाल जुरी छन् । प्रतिस्पर्धामा सहभागीहरुले १२ देखि २४ मिनेटसम्मको सर्ट फिल्म निर्माण गर्नुपर्ने छ । प्रतिस्पर्धीले आउदो साउन २० गतेभित्रमा सर्ट फिल्मको कथासार दर्ता गराइसक्नुपर्ने र कथाहरु छनोट भएमा साउन २५ देखि भदौ २५ भित्रमा सर्ट फिल्म निर्माण पूरा गर्नुपर्नेछ ।

छनोटमा परेका सर्ट फिल्महरुबारे निर्णायक मण्डलले भदौ २६ देखि मूल्यांकन गर्नेछन् । ती सर्ट फिल्म असोज १ गतेदेखि नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुनेछन् । प्रशारित सर्ट फिल्ममध्ये पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र ५० हजार रुपैयाँ नगदका साथै ट्रफी र प्रमाणपत्रसमेत पाउनेछन् ।

यसबाहेक उत्कृष्ट १० वटा चलचित्रलाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र सहित उत्कृष्ट पाँच लघुचलचित्रकर्मीलाई डीएआर मुभिजबाट निर्माण हुने फिल्महरुमा तथा नेपाल नेटवर्क टेलिभिजबाट निर्माण हुने टेलिचलचित्रहरुमा प्राथामिकताका आधारमा काम गर्ने अवसर प्रदान गरिने बताइएको छ ।