यस्तो छ सम्झना बिर्सनाको व्यापार

काठमाडौं । प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ शुक्रबारदेखि दोश्रो सातामा प्रवेश गरेको छ । निमेष प्रधान निर्देशित फिल्म गत शुक्रबार अर्थात ३१ असारदेखि देशव्यापी प्रदर्शनमा छ । फिल्मले एक सातामा कुल २ करोड १८ लाख रुपैयाँ ग्रस गरेको जानकारी निर्माण पक्षले दिएको छ ।

रेबिका प्रधान र अद्धितिय प्रधानले निर्माण गरेको फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा, सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणा मुख्य भूमिकामा छन् । निर्देशक प्रधानकै लेखन रहेको फिल्ममा आकाश, पूजा र छुल्ठिमबीचको त्रिकोणात्मक प्रेमका साथै दार्जिलिङ्गको चिया बगानमा कार्यरत मज्दुरको जीवनशैली, पीडा, समस्या र हकअधिकारको कुरालाई समेत प्रस्तुत गरिएको छ । फिल्मको कार्यकारी निर्माता सुवास भुर्तेल हुन् ।

दार्जिलिङ, सिलिगुढी तथा सिक्किममका रमणीय स्थानमा खिचिएको फिल्म आरआर फिल्मस्ले वितरण गरेको हो । शिव ढकालको छायांकन, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी तथा अर्जुन पोखरेल, निमेष प्रधानलगायतको संगीत रहेको फिल्म १६ सेप्टेम्बरबाट भारतका विभिन्न शहरमा एकसाथ प्रदर्शन हुने तयारीमा रहेको निर्माता अद्वितियले जानकारी दिए ।