युरोपका सहरमा प्रेमगन्ज

काठमाडौं । फिल्म ‘प्रेमगन्ज’ जर्मनीलगायत युरोपका ४४ देशमा एकसाथ प्रदर्शन हुने भएको छ । फिल्मलाई जर्मनीस्थित लोकाख फिलम इन्टरटेनमेन्टले युरोपमा प्रदर्शनको जिम्मा लिएको हो ।

निर्देशक परिच्छेद सेनले अन्तर्राष्ट्रिय प्रदर्शनको पहिलो प्रयास सफल हुन लागेको खुशी व्यक्त गरे । ‘अहिले हामीले पैसा भन्दा पनि बाटो खोजिरहेका छौं । यसले गर्दा भविष्यमा निर्माण हुने अन्य नेपाली फिल्मलाई बाटो खुल्ने छ’, उनले भने, ‘फिल्मको टिजर विभिन्न देशका विभिन्न कम्पनीहरुलाई देखाईरहेको छौँ । सबैले नेपालमा पनि फिल्म उद्योग छ ? भनेर सोध्नुहुन्छ । यसरी सोध्दा दुःख लाग्छ । तर एप्पल टिभि, गुगल टिभि, हट्स्टारलगायतकाले फिल्म हेर्न खोजिरहनु भएको छ ।’

उनका अनुसार भारतमा फिल्म रिलिजका लागि पीभीआरसँग कुराकानी भइरहेको छ । भदौ ३ गते रिलिज हुने फिल्ममा तेज गिरी, बेनिशा हमाललगायतका कलाकारको अभिनय छ ।