चितवनमा लाखेको प्रिमियर शो

चितवन । सस्पेन्स र थ्रीलपूर्ण फिल्म ‘लाखे’ को चितवनमा प्रिमियर शो हुने भएको छ । भदौ ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको यो फिल्मलाई चितवनमा लक्की मिडिया हाउसले आगामी भदौ २९ गते प्रिमियर शो गर्न लागेको हो ।

शोमा ‘लाखे’ का कलाकारसँगै अन्य राष्ट्रिय कलाकारहरुलाई पनि सम्मान गरिने मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले जानकारी दिए । लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली फिल्मका कलाकारहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो तथा च्यारिटी शो गर्दै आएको छ ।

सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारीको अभिनय छ ।

गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुती रहेको चलचित्रको कथाकार र निर्माता सिजन अर्याल हुन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन छ । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा, संवाद आकाश बरालले लेखेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको फिल्मका गीतमा दीपक बज्राचार्यको संगीत छ ।