शुक्रबारदेखि बेलायतमा गोर्खाः बिनिथ द ब्रेभरी

काठमाडौं । नेपाली गोर्खा सैनिकहरुले चिनाएको देश मानिने बेलायतबाट नेपाली फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ प्रदर्शनमा आउने भएको छ । २९ जुलाई अर्थात् भोलिबाट बेलायतका विभिन्न शहरहरुमा फिल्म प्रदर्शन हुन लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिए ।

गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएकाले फिल्म गोर्खा सैनिक बस्ने देशमा प्रदर्शन गर्न लागिएको उनको भनाई छ । यो फिल्म सेप्टेम्बरदेखि फल्कल्यान्ड आइल्यान्डमा पनि प्रदर्शन हुने निश्चित भएको छ ।

फिल्मले उठाएको ब्रिटिस आर्मीसँगको ऐतिहासिक कथावस्तुका कारण बीएफबीएस सिनेमाघर युके आर्मी सिनेमामा पनि फिल्म प्रदर्शन हुने निर्देशक शाहीले बताए । बेलायत प्रदर्शनमा फिल्मलाई ह्याम्पशायर एकाउन्टेन्टले प्रायोजन गरेको छ भने खुकुरी रमले प्रमोशनमा सघाएको छ ।

आगामी भदौ २४ गतेबाट नेपालमा प्रदर्शनमा आउन लागेको फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय रहेको छ । फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर फिल्म बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् ।

शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् । नेपाल प्रदर्शनभन्दा अगाडि फिल्मको अमेरिका, ब्रुनाई, सिंगापुर र अष्ट्रेलियामा पनि स्क्रिनिङ हुनेछ । नेपालमा फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।

फिल्ममा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन, अश्रुती पटेलको कला निर्देशन, बेलेन सिलोगुल्लरको कलर, एरमान जम्बकको भिएफएक्स र रबिन श्रेष्ठको साउन्ड ट्रयाक छ ।