इन्स्टाको ब्राण्ड एम्बासडरमा नम्रता

काठमाडौं । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै सञ्चालनमा आएको इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एन्ड भिसा सर्विसेजको ब्रान्ड एम्बास्डरमा अभिनेत्री तथा मोडल नम्रता सापकोटा नियुक्त भएकी छन् । आइतवार एक कार्यक्रमबीच कन्सल्टेन्सी र नम्रताबीच सम्झौता पत्र आदान–प्रदान भयो । उनी ब्रान्ड एम्बास्डरमा नियुक्त हुनुअघि कन्सल्टेन्सीको नेपाल कार्यालय उद्घाटन गरिएको थियो ।

एजुकेशन कन्सल्टेन्सी एशोसियस अफ नेपाल (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले रिवन काटेर पुतलीसडकमा रहेको स्टार मलको चौथौं तल्लामा अवस्थित कन्सल्टेन्सीको उद्घाटन गरे । ब्रान्ड एम्बास्डरमा नियुक्त भएपछि नम्रताले आफूमाथि थप जिम्मेवारी थपिएको बताइन् । आफूले बोल्दा कसैको जीवन र करिअरसँग सम्बन्धि हुने भएकाले राम्ररी बुझेर, सोचेर र सम्झेर मात्र ब्रान्ड एम्बास्डर बन्ने निर्णय गरेको उनको भनाई छ ।

कन्सल्टेन्सीका निर्देशक तथा अष्ट्रेलियाका इमिग्रेशन एजेन्ट हिरा कँडेलले विगत लामो समयदेखि अष्ट्रेलियाबाट सेवा प्रदान गर्दै आएको भए पनि अब नेपालबाट विद्यार्थीहरुलाई अष्ट्रेलिया लगायतका राष्ट्रमा सहयोग गर्न कार्यालय खोलेको बताए । त्यस्तै, कन्सल्टेन्सीका नेपाल कार्यालयका एमडी हरी प्रपन्न कँडेलले आफूले लामो समयदेखि शिक्षा क्षेत्रमा बटुलेको अनुभवलाई विद्यार्थीको विदेश अध्ययन सहज बनाउन खर्चिने बताए । हरी प्रपन्न कँडेलले गोल्डेन गेट कलेज लगायतका विभिन्न क्याम्पसहरुमा अध्यापन गर्दै आएका छन् ।

इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एन्ड भिसा सर्विसेजको अष्ट्रेलियाको सिड्नीमा केन्द्रिय कार्यालय रहेको छ । अष्ट्रेलिया कार्यालयको प्रमुखमा हरी सापकोटा छन् । यस कन्सल्टेन्सीबाट अष्ट्रेलियासँगै क्यानडा, अमेरिका लगायतका राष्ट्रमा जान चाहने विद्यार्थीलाई पनि सहजीकरण हुने सापकोटाको भनाई छ ।