पवित्रा र उषालाई निशा घिमिरे स्मृति पुरस्कार

काठमाडौं । निशा घिमिरे स्मृति कोषको गत साउन १४ गते बसेको बैठकले स्थापना वर्षको ‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशी जनही २५ हजार रुपैंयाँ र सम्मानपत्र छ ।

कोषका संयोजक दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको उक्त बैठकले नर्भिक अस्पतालका मेघा चौधरी, सञ्चारकर्मी प्रकाश सुवेदी र नवजीवन परोपकार समाजलाई विशेष सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

केही वर्षअघि भारतमा सडक दुर्घटनामा परेकी अभिनेत्री, मोडल निशालाई नेपालमा ल्याएपछि नवजीवन परोपकार समाजको पहलमा मेघा चौधरीमार्फत नर्भिक अस्पतालमा निशुल्क उपचार भएको थियो । ५÷६ महिनाको उपचार पछि उपचाररत अवस्थामा नै मोडल निशाको २०७८ भदौ १६ गते निधन भएको थियो ।

निशा उपचाररत अवस्थामा नै देशविदेशमा रहेका शुभेच्छुकहरुले निशाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग रकम पठाएका थिए । गत वर्ष स्व. निशा घिमिरेको नाममा नवजीवन परोपकार समाज र नेपाल चलचित्र कलाकार संघको पहलमा एउटा संरक्षण कोष गठन गरिएको थियो ।

शुभेच्छुक दाता र रजतपटका सञ्चालक सञ्चारकर्मी प्रकाश सुवेदीको सक्रियतामा कोषमा जम्मा हुन आएको रकमलाई निशा दिवंगत भएपछि अक्षय कोषमा राखि प्रत्येक वर्ष दुई जना मोडल अभिनेत्रीलाई पुरस्कार दिने निर्णय गरिएको थियो ।

हाल निशा घिमिरे स्मृति कोषमा दुर्गानाथ दाहाल, मोहन निरौला र स्व. निशा घिमिरेकी दिदी उषा घिमिरे छन् । उक्त पुरस्कार र सम्मान भदौ १६ गते एउटा समारोहको आयोजना गरि समर्पण गर्ने निर्णय भएको छ ।