काठमाडौं । नेपालपछि प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ अब भारतका शहरमा प्रदर्शन हुने भएको छ । गत असार ३१ गते नेपालभरका हलमा प्रदर्शन भएको फिल्म ९ सेप्टेम्बरबाट इन्डियाका दर्शकमाझ पुग्न लागेको हो । निर्माता अद्धितीय प्रधानले पहिलो चरणमा ९ सेप्टेम्बरमा दार्जिलिङ, सिक्किम,सिलगुडी,जय गाउँलगायतका स्थानका हलमा प्रदर्शन हुने तयारीमा रहेको जानकारी दिए ।
‘हामी चरण चरणमा गरेर फिल्म रिलिज गर्दैछौ,’ उनले भने, ‘दोश्रो चरणमा ७ अक्टोबरमा असाम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा रिलिज हुदैछ भने तेश्रो चरणमा २१ अक्टुवरमा बाँकी शहरहरुमा प्रदर्शन गर्दैछौ ।’
निमेष प्रधान निर्देशीत फिल्म भारतका हलमा नेपाली भाषामै तर अंग्रेजी सबटाइटलका साथ प्रदर्शन गरिदै छ । ‘हामीले प्रारम्भीक रुपमा नेपाली भाषी दर्शकलाई नै लक्षित गरेका छौ,’ निर्माता प्रधानले भने, ‘त्यसैले नेपाली भाषामै रिलिज गर्न लागेका हौ । नेपाली नबुझ्नेहरुका लागि भने अंगे्रेजी सबटाइटल राखेका छौं ।’
रेबिका प्रधानको निर्माण र निर्देशक निमेषकै लेखन रहेको फिल्मले नेपालमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । फिल्ममा आकाश श्रेष्ठ,पूजा शर्मा,सुनील थापा,छुल्ठिम गुरुङ र शिसिर राणा मुख्य भूमिकामा छन् ।
दार्जिलिङ,सिल्गुढी तथा सिक्कीमका रमणीय स्थानमा खिचिएको फिल्ममा शिब ढकालको छायांकन,कमल राई र रामजी लामीछानेको कोरियोग्राफी तथा अर्जुन पोखरेल र निमेष प्रधानको संगीत छ ।