काठमाडौं । पछिल्लो समय सांगीतिक बजार खस्कंदै जाँदा गायक तथा संगीतकारहरुले सांगीतिक एल्बम नभई एउटामात्र ट्रयाक रेकर्ड गरेर सार्वजनिक गर्ने प्रचलन बढेको छ । गत बुधबार राजधानी काठमाडौँमा अवस्थित मण्डला थिएटरमा एउटा सांगीतिक एल्बम बिमोचन गरियो ।
गायक दिपक लिम्बुको एकल गायन डम्बर नेपालीको एकल शब्द तथा संगीत रहेको ‘समायोजन’ नामक सांगीतिक कोशेलीको बिमोचन गरिएको हो । एल्बममा ४ वटा गीत रहेका छन् । एक गीतमा गायक लिम्बुलाई त्रिशाला गुरुङले स्वरमा साथ दिएकी छन् । एलबमको निर्माण तथा व्यवस्थापन रुकमान लिम्बुले गरेका हुन् । रुबुषा क्रियटिभ वक्र्सको प्रस्तुति रहेको एल्बममा समाबेश एक गीतको भिडियो पनि सार्वजनिक गरिएको छ ।
कार्यक्रममा ‘नढाँटन हौ’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरियो । युवराज वाइवाले निर्देशन गरेको भिडियोमा गायक दिपक लिम्बु र इशिका लिम्बु फिचर्ड छन् । महेश पौडेलले छायाँकन गरेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् भने लोमस पौडेलले सहायक निर्देशनको जिम्मेवारी सम्हालेका छन् । युवराज वाइवाले ‘नढाँटन हौ’ को कथामा निकै नै मेहनत गरेका छन् । एउटा सामान्य परिवारले देखेको सपना पुरा गर्न गरेको मेहनतको कथा भिडियोले बोल्छ।