अमेजन प्राइममा बुलबुल

काठमाडौं । सन २०१९मा प्रदर्शनमा आएर राष्ट्रिय एवं अन्तराष्ट्रिय पुरस्कारहरु पाएको फिल्म ‘बुलबुल’ अमेजन प्राइममा रिलिज भएको छ । अमेरिका, बेलायतलगायत विश्वभरका दर्शकहरुले अमेजन प्राइमको साइटमा गएर निश्चित रकम तिरेपछि बुलबुल हेर्न सक्नेछन् ।

फिल्मका निर्माता अविरल थापाले पहिले हलमा हेर्न नपाएका र नभ्याएका विदेशमा रहेका दर्शकहरुले बुलबुल हेर्न अत्याधिक माग गरेपछि अमेजन प्राइममार्फत पुनः प्रदर्शनमा ल्याउन आफुलाई उचित लागेको बताए ।

कहाँबाट कतिजनाले फिल्म हेरे र कति आम्दानी भयो भन्ने सबै कुरा फिल्म निर्माता आफैले पारदर्शी रुपमा हेर्न सकिने हुँदा फिल्म निर्माताहरुको लागि र दर्शकहरुको लागि पनि घरमै बसीबसी आफनो समयानुसार फिल्म हेर्न पाउनु सुनौलो अवसर भएको पनि थापाले बताए ।

स्वस्तिमा खड्काले यो फिल्ममा उत्कृष्ट अभिनय गरेबापत सार्क फिल्म फेस्टिभललगायत अन्य घरायसी फेस्टिभलहरुमा साथै राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी थिइन भने निर्देशक विनोद पौडेलले पनि उत्कृष्ट निर्देशकको पुरस्कार हात पारेका थिए ।

यो फिल्मले नेपालको तर्फबाट ९२ औं अस्कर फिल्म अर्वाडमा पनि प्रतिनिधित्व गरेको थियो भने संसारका कैयन अन्य फिल्म महोत्सवमा पनि छानिएको थियो । फिल्ममा नवअभिनेता मुकुन भुषाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्रीलगायतको अभिनय छ ।