गोर्खा वारियरमा क्रिस्टोफरको स्वर

काठमाडौं । सन् २०२३ मा विश्वव्यापी रिलिज हुने नेपाली फिल्म ‘गोर्खा वारियर’ को यतिबेला लन्डनमा डबिङ भईरहेको छ । हलिउडका डविङ कलाकार क्रिस्टोफर केन्टले यो फिल्मको टिजर र ट्रेलरमा डबिङ गरेका छन् । उनले जेम्स बोन्डको फिल्म ‘नो टाईम टु डाई’, ‘फ्रोजन २’, ‘आर्टिमिस फल’सहित हलिउडका चर्चित फिल्म तथा सैयौं टिभिसी, वृत्तचित्रमा डबिङ गरिसकेका छन् ।

क्रिस्टोफरले हाल बेलायतको लन्डन स्टुडियोमा ‘गोर्खा वारियर’का लागि डबिङ गरिरहेका हुन् । यसअघि ‘गोर्खा वारियर २’ नाम राखिए पनि अब यो फिल्मको नाम ‘गोर्खा वारियर’ हुने छ । यसको दोश्रो संस्करण अर्थात गोर्खा वारियर २ निर्माण अर्को वर्ष हुने छ ।

निर्देशक मिलन चाम्ले यो फिल्मको निर्माण निर्देशन गरेका हुन् । नेपाल, भारत, मलेशिया लगायतका देशमा छायाङ्कन भएको यो फिल्मलाई नेपालसँगै विश्वव्यापी रुपमा एकसाथ रिलिज गर्ने निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् ।

गोर्खा सैनिकले विश्व युद्धमा गरेको संघर्ष र सफलताको कथामा फिल्म निर्माण भईरहेको छ । फिल्मको मुख्य नायकमा रितेश चाम्स छन् । रितेशसँगै फिल्ममा विजय लामा, रेविका गुरुङ, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो फिल्मको निर्मातामा सुस्मिता वाइवा, कार्यकारी निर्मातामा प्रशान्त थापा र सहनिर्माताको रुपमा सुरेश राई छन् ।

फिल्ममा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ ।