कविता बनिन् आर्यनको सायरा

काठमाडौं । नेपाली र भारतीय निर्माताको संयुक्त लगानीमा बन्ने फिल्म ‘सायरा’ को घोषणा भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमबीच घोषणा गरिएको फिल्ममा बलिउड निर्माता तथा निर्देशक पुस्कर झाको निर्माण तथा विशाल देसाईको निर्देशन रहनेछ ।

पुस्करसँग नेपाली व्यानर डीबीआर मेडिया एण्ड मुभिज र आइविल प्रोडक्सन अष्ट्रेलियाको संयुक्त लगानी रहनेछ । भिलेज ब्वाई प्रोडक्सनमार्फत भारतमा सिरियल र फिल्म निर्माण गरिरहेका पुस्करले नेपाली फिल्म बनाउन पाउँदा खुसी रहेको बताए ।

निर्देशक विशाल देसाइले नेप–इन्डो प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित रहेको बताए । फिल्मका प्रस्तुतकर्ता रघु परियारले आफ्नो प्रस्ताव स्वीकारेर फिल्ममा जोडिनु भएको भन्दै पुस्कर र विशाललाई धन्यवाददिए ।

फिल्ममा आर्यन सिग्देल, सुफिया सिद्दिकी, कविता नेपालीलगायतका कलाकारहरुको अभिनय रहने छ । फिल्मको अन्य कलाकार तथा प्राविधिकको बारेमा छिटै जानकारी दिने समेत प्रस्तुतकर्ता रघुले बताए । फिल्मको आइडिया र टिमले गर्दा आफू जोडिएको आर्यनले बताए ।

डान्सिङ रियालिटी शो मार्फत चिनिएकी कविता नेपाली यसै फिल्ममार्फत डेब्यु गर्दैछिन् । उनले टिमले आफूलाई जोडिन मदत गरेको बताइन । दसैं र तिहारको बीचमा छायांकन सुरु हुने सायराको ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुने जानकारी दिइएको छ । यसमा नेपाल र भारत दुवै देशकाकलाकारको अभिनय रहनेछ ।

यसमा कार्यकारी निर्मातामा काजीमान अत्रेय तथा निर्मातामा पुष्कर झा छन् । यसको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो ।