डिसेम्वर फल्सको बाँकी सुटिङ धमाधम

काठमाडौं । फिल्म ‘डिसेम्वर फल्स’ कोे छायांकन हाल राजधानीमा धमाधम भइरहेको छ । पहिलो लकडाउन खुलेपछि छायांकन थालिएको फिल्म निर्माण कार्य दोश्रो पटकको निषेधाज्ञाका कारण केही मात्रामा प्रभावित भएको थियो । अब भने छायांकन सम्पूर्ण रुपले समापन गर्ने सेड्युलका साथ निर्माण पक्ष कस्सिएको छ ।

आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको फिल्मको निर्देशक प्रविण झा हुन भने महेश आर गुप्ताले खिचिरहेका छन् । निर्देशक प्रविण र छायांकार महेश भारतीय फिल्म उद्योगमा कार्यरत छन् ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता लक्ष्मण रिजाल छन् । राजकुमार भट्ट निर्माता रहेको फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा रोहित, सलोन बस्नेत, नरेश भट्टराईलगायतका कलाकारले अभिनय गरेका छन् ।

बिपीका खनालको कथा, केदार भुसालको पटकथा र सम्वाद रहेको फिल्मको अधिकांश दृश्य पोखरामा आसपासमा खिचिएको छ । फिल्मको हल वितरण भने श्रीराम बलाजी फिल्मस्का सुनील मानन्धरले गर्ने छन् ।

फिल्मको पूरा छायांकन सकिन अब झण्डै दुई साता लाग्ने जानकारी कार्यकारी निर्माता रिजालले दिएका छन् । पहिला साउन १ गते प्रदर्शन गर्ने भनिएको भए तापनि अब भने यो फिल्म आगामी डिसेम्बर महिनामा दर्शकमाझ आउने छ ।