मोफसलको महाभ्रमण गर्दै महापुरुष

काठमाडौं । आगामी कार्तिक ११ गतेबाट अल नेपाल रिलिज हुने फिल्म ‘महापुरुष’ले मोफसलको ‘महाभ्रमण’ गर्ने भएको छ । भ्रमणमा हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराईली, कमेडियन सुमन कार्की, गायक निशान भट्टराई रहेकाछन् । केही स्थानमा मदनकृष्ण श्रेष्ठ पनि सहभागी हुने कलाकार तथा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले बताए ।

उनको अनुसार ‘महाभ्रमण’ अन्तर्गत असोज २५ मा बिर्तामोड स्थित वान स्टप मल, असोज २६ इटहरीमा जनता प्राविको मैदान र विराटनगरको सेन्ट्रल मल, असोज २७ मा हेटौडाको हुप्र चौर, असोज २८ मा नारायणगढको नारायणी नदी किनार, असोज २९ मा बुटवलको अमरपथमा रहेको टक्सार कम्प्लेक्स अगाडी र असोज ३० मा पोखराको हलन चोकमा भेटघाट तथा प्रस्तुति हुनेछ ।

‘दर्शकसँग साक्षात्कार गर्दै फिल्म बारे जानकरी दिनु आतुर छु,’ अभिनेता आचार्यले भने । ‘महाभ्रमण’ मा सुमन कार्कीले हाँस्य प्रस्तुति र निशान भट्टराईले सांगीतिक प्रस्तुति दिनेछन् । सामाजिक विषयवस्तुमा आधारित फ्यामिली ड्रामामा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ , रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय रहेको छ ।

यही फिल्ममार्फत अरुण क्षेत्री र अन्जना बराईलीले डेब्यु गर्दैछन् । यसमा निर्देशक भट्टराईकै लेखन रहेको छ । फिल्ममा दीपक बज्राचार्यले छायांकन, मित्र डी. गुरुङको सम्पादन छ । षट्कोण आर्ट्सको व्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।