दर्शक तान्दै २ नम्बरी

काठमाडौं । हिजो शुक्रबारदेखि रिलिज भएको फिल्म ‘२ नम्बरी’ले घरेलु बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । विशेषगरि, दशैंको टिका लगतै हलमा दर्शक फर्किएलान् कि नफर्किएलान् भन्ने अन्यौलका विच रिलिज भएको फिल्म हेर्न दर्शकको भीड लागेको छ ।

फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले पहिलो दिन १ करोड माथिको ग्रस कलेक्शन भएको बताए । आज शनिबार पनि फिल्मको व्यापार राम्रो भएकाले व्यापार शुक्रबारको तुलानामा अझै राम्रो हुने उनको भनाई छ ।

दीपेन्द्र लामा निर्देशित फिल्मलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । फिल्म हेर्नका लागि काठमाडौं लगायत देशभरका मल्टिप्लेक्समा दर्शकको चाप उच्च छ । दर्शकले फिल्ममा कमेडी, पारिवारिक कथा, सन्देश सबै भएको बताए । कतिपय दर्शकले फिल्ममा दयाहाङको भूमिकालाई उत्कृष्ट भनेका छन् भने कतिपयले सौगातले फिल्ममा खुबै हसाँएको प्रतिक्रिया दिएका छन् ।

केही दर्शकले लामो समयपछि एउटा राम्रो सन्देशमुलक फिल्म हेर्न पाएको समेत प्रतिक्रिया दिएका छन् । निर्देशक दीपेन्द्र लामाले आफ्ना हरेक फिल्ममा सामाजिक कथा उठान हुने गरेको बताउँदै यो फिल्म आफूले दर्शकका लागि बनाएको र दर्शकले मन पराएको बताए । फिल्म सकिएपछि दर्शकले आफ्नो सिटबाट उठेर ताली बजाउँदै फिल्मको बिषयवस्तुमा धाप मारेका थिए ।

दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेनको मुख्य भूमिका रहेको यो फिल्मले बनजंगल संरक्षणको सन्देश समेत दिन्छ ।

हलमा पुगेकी नायिका उपासनाले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको बताउँदै आफूले कम फिल्म साइन गर्ने तर उत्कृष्ट कथा रोज्ने बताइन् । यस्तै, भुटानी नायिका उगेन छोदेन डेब्यू फिल्म नै सुपरहिट हुने बाटोमा गएपछि दंग छिन् । उनले, नेपाली दर्शकले माया गरेको खण्डमा निरन्तर नेपाली फिल्म खेल्ने पनि बताइन् ।