थ्री इडियट अभिनेता अरुणको निधन

मुम्बई(एजेन्सी) । कैयौं फिल्म तथा टेलिभिजन शोमा आफ्नो दमदार अभिनयका कारण दर्शकको मन जित्न सफल अभिनेता अरुण बालीको ७९ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार बिहान ४ बजेर ३० मिनेट जाँदा निधन भएको हो । लामो समयदेखि अस्वस्थ रही निधन भएका बालीको शनिबार अन्तिम संस्कार गरिनेछ ।

उनले ‘३ इडीयट्स’ र ‘लाल सिंह चढ्ढा’ जस्ता फिल्ममा अभिनय गरेका थिए । उनको अन्तिम फिल्म ‘गुडबाई’ हो ।

केही दिनअघि मुम्बईको हिरानन्दानी अस्पतालमा अरुणलाई भर्ना गरिएको थियो । अरुण एक दुर्लभ रोग मास्थानिया ग्राभिसबाट पीडित थिए । यो एक अटोइम्यून रोग हो, जो नशा र मांशपेसीबीचको सञ्चार असफल भएपछि देखा पर्छ ।

९० को दशकमा आफ्नो करियर सुरुवात गरेका अरुणले ४७ भन्दा बढी फिल्म र २९ बढी टेलिभिजन शोमा काम गरेका छन् । उनले शाहरुख खान, अक्षय कुमार, आमिर खान र सुशान्तसिंह राजपुतजस्ता स्टारसँग काम गरेका छन् ।

उनले ‘पीके’, ‘केदारनाथ’, ‘राजू बन गया जेन्टलमेन’, ‘फूल और अंगारे’, ‘खलनायक’ जस्ता फिल्ममा अभिनय गरेका थिए ।