विशेष शोमा रुचाइयो २ नम्बरी

काठमाडौं । आइतबार बेलुकी आयोजना गरिएको फिल्म ‘२ नम्बरी’को विशेष शोमा यो फिल्मलाई फिल्मीकर्मीहरुले रुचाएका छन् । फिल्म हेर्न पुगेकी नायिका पूजा शर्माले यसको कथावस्तु, प्रस्तुति र फिल्मले दिएको सन्देश उत्कृष्ट लागेको बताइन् । सधै नै सामाजिक कथावस्तुमा फिल्म बनाउँदै आएका दीपेन्द्र लामाले यसपटक बन्यजन्तुको चोरी शिकारी गर्नु हुदैन भन्ने कथा उठान गरेका छन् ।

पूजाले, फिल्मले दिएको सन्देश, कलाकारको अभिनय उत्कृष्ट लागेको बताइन् । यस्तै, कलाकार सन्तोष पन्तले आम नेपालीले यो फिल्म हेर्नुपर्ने बताए । शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘हिजो आजका कुरा’का कलाकार समेत रहेका पन्तले भने–‘फिल्मको कथावस्तु आफ्नै माटोको छ । अर्गानिक कथालाई निर्देशकले रमाइलो तरिकाले बुनेका छन् ।’

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले पनि यो फिल्मको प्रशंसा गरे । फिल्मको कथावस्तुले नेपाली माटोको सुगन्ध बोलेको उनको तर्क थियो । निर्देशक शोभित बस्नेतले यसअघि दीपेन्द्र लामाले आफ्ना लागि फिल्म बनाएको तर यसपटक दर्शकका लागि बनाएको तर्क गरे ।

दर्शक र फिल्मीकर्मीबाट पाएको प्रतिक्रियाबाट उत्साहित भएका नायक दयाहाङ राइले सामाजिक सन्देश सहितको फिल्म भएकाले दर्शकको मन छोएको बताए । नायिका उपासना सिंह ठकुरीले राम्रो कथा भएकाले नै आफूले फिल्म साइन गरेको बताइन् । अर्की नायिका उगेन छोदेनले नेपाली दर्शकले आफूलाई स्वागत गरेको भन्दै खुशी व्यक्त गरिन् । किरण नेपाली प्रस्तुतकर्ता रहेको यो फिल्मले रिलिजको चौथो दिन आज मध्यान्नका शोहरुमा उच्च अकुपेन्सीसहित दर्शकको माया पाइरहेको छ ।