चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले भरतपुरमा आइएसएमटी साँगीतिक साँझ कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरमा रहेको धावन पाटी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुको सहभागिता रहेको थियो । लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ’लक्की’ले सांगीतिक साँझमा चर्चित बरिष्ठ सदावहार गायक आनन्द कार्की तथा चर्चित गायिका देविका वन्दनालाई सम्मान गरिएको बताए ।
कार्यक्रममा बरिष्ठ संचारउद्यमी नवीनराज पौडेल सम्मान गरिएको थियो । पौडेल दुई दशकदेखि संचार क्षेत्रमा आबद्ध छन् । उनले चितवनमा रहेर भरतपुर एफ.एम, भरतपुर पोष्ट, नवीनखबर डट कम, भरतपुर अनलाईन टि.भी लगायतका सञ्चार माध्यम सञ्चालन गर्दै आएका छन् ।
नेपाली सांगीतिक क्षेत्रमा अतुलनीय योगदान दिए बापत चर्चित बरिष्ठ सदावहार गायक कार्की तथा गायिका वन्दनालाई सम्मान गरिएको थियो । सांगीतिक क्षेत्रलाई प्रर्वद्धन गर्ने र नेपालीहरुको महान पर्वको अवसर पारेर यो बिशेष कार्यक्रम आयोजना गरिएको महाप्रबन्धक कार्कीले बताए ।
गायक कार्की नेपाली सांगीतिक धरातलमा बिगत लामो समयदेखि आफूलाई अग्रस्थानमा राख्दै आएका कार्की गायनबाट अन्तरराष्ट्रिय क्षेत्रमा समेत देशलाई चिनाउन सक्रिय छन् । उनले गजल, भजन, आधुनिक र चलचित्रका समेत गरी छ हजार भन्दा बढी गीत गाइसकेका छन् । नेपाली गीतमा मात्र होइन, हिन्दी गीतमा पनि उनको उत्तिकै प्रभाव छ । त्यस्तै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायिका देविका वन्दना नेपाली गीत सँगै नेवारी, हिन्दी, मराठी लगायतका विभिन्न भाषाका हजारौं गीतलाई सुमधुर स्वर दिएकी छन् ।
कार्यक्रममा प्रमुख अतिथि श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका मन्त्री घनश्याम दाहाल ’अविनाश’ रहेका थिए । बिशेष अतिथि बरिष्ठ फिजिसियन तथा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी रहेका थिए ।
प्याब्सनको बागमती प्रदेश सदस्य इन्दिरा पन्त कार्की बिशिष्ठ अतिथी रहेका थिए । लक्की मिडिया हाउस चितवनका निर्देशक हेमन्त केसी ’हरि’ कार्यक्रम संयोजक रहेको कार्यक्रम चर्चित संचारकर्मी दिनेश श्रेष्ठ ’पासा’ले गरेका थिए ।